६४९ वटा पालिकामा पाँच बेडको अस्पताल तत्काल सञ्चालनमा ल्याईदै

काठमाडौँ, १३ भदौ । सरकारले अस्पताल नभएका ६४९ वटा स्थानीय तहमा ५ बेडको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कोभिड – १९ को उपचार तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल नभएका ६४९ स्थानीय तहमा एकै पटक अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् ।

उक्त अस्पतालमा एमबीबीएस डाक्टर एक जना र नर्स दुई जना हुनेछन् भने आवश्यक संख्यामा स्वास्थ्यकर्मीहरू पनि रहनेछन् ।
त्यसका लागि मन्त्रालयले शुक्रबार नै ६४ करोड रुपैयाँ बजेट समेत निकासा गरिसकेको छ ।

स्थानीय तहमा कहाँ अस्पताल सञ्चालन गर्ने भन्ने निर्णय सम्बन्धित स्थानीय तहले गर्न सक्नेछन् । त्यस्तै अस्पतालको व्यवस्थापन पनि स्थानीय तहले नै गर्न सक्ने भनिएको छ ।

तीन तहका अस्पतालमा ६ हजार २०२ बेड थप्ने निर्णय
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार २०२ बेड थप्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संघ अन्तरगर्तका अस्पतालमा १ हजार बेड, प्रदेश अन्तरगर्तका अस्पतालमा १ हजार ९५७ र एउटा पनि अस्पताल नभएका ६४९ वटा गाँउपालिकामा तत्काल ५ बेडका दरले अस्पताल ल्याउँदा थप ३ हजार २४५ वटा बेड थपिनेछन् ।

थप बेडहरु कोभिड – १९ को संक्रमितको उपचारका लागि प्रयोग हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *