प्रसूति गृहका तीन डाक्टर सहित ८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौँ, ६ भदौ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत ३ जना चिकित्सक सहित ८ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अस्पतालको काउन्टरमा काम गर्ने एनआईवीएल बैंकका कम्तिमा चार जना कर्मचारीमा पनि कोरोना पोजेटिभ भएको बताइएको छ ।

अस्पतालका उपनिर्देशक डा श्रीप्रसाद अधिकारीले पछिल्लो एक सातामा कन्ट्याक्ट ट्रेसिङका क्रममा करीब ७० जनाको पीसीआर परीक्षण गरिएको र सो क्रममा ८ जनाको पोजेटिभ आएको बताए । उनले अस्पतालकै क्यास काउन्टरमा काम गर्ने एनआईवीएल बैंकका अरु ४ जना कर्मचारीमा पनि संक्रमण देखिएको आफूले जानकारी पाएको जानकारी दिए । ‘तीन जना आवासीय चिकित्सक हुनुहुन्छ । पाँच जना अरु स्वास्थ्यकर्मी,’ उनले भने ।

अस्पतालका निर्देशक डा संगिता मिश्राले संक्रमितमध्ये दुई जनालाई टेकुस्थित शुक्रराज अस्पतालमा र बाँकीलाई होम आइसोलेसनमा राखिएको बताइन ।

उनले अस्पतालमा प्रसूतिका लागि आउने गर्भवतीहरुका लागि ट्रायज गरी जोखिमयुक्त देखिएकालाई कुपन्डोलमा रहेको अस्पतालकै आइसोलेसन भवनमा लगेर राखिने गरिएको बताइन ।

उनले पीसीआर रिपोर्ट नेगेटिभ आएपछि प्रसूतिमै ल्याएर गराउने र पोजेटिभ आएमा उतै आइसोलेसन सेन्टरबाटै सो सेवा उपलव्ध गराउने व्यवस्था मिलाइएको समेत बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *