कोरोनाको उपचार गर्न काठमाडौँ उपत्यकामा एक हजार शैय्या थपिदै


काठमाडौँ, ३० साउन । सरकारले काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न एक हजार शैय्याको आइसोलेसन उपचार केन्द्र थप गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न चार स्थानमा कोभिड -१९ संक्रमितको उपचार गर्न एक हजार शैय्या थप गर्न लागेको हो ।

मन्त्रालयका अनुसार दहचोकस्थित मनमोहन मेडिकल कलेजको वेसिक साइन्स भवनमा ३०० शैय्या, भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेको क्वारेन्टिनमा ३०० शैय्या, कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा ३०० शैय्या र नेपाल मेडिकल कलेज जोरपाटीमा १०० शैय्या थप गर्न लागेको हो ।

‘उपत्यकामा संक्रमण बढ्यो त्यसैले शैय्या थप गर्नै पर्ने भयो त्यसका लागि उपयुक्त ठाउँको खोजी गर्ने क्रममा यी चार स्थानमा शैय्या थप गर्ने निर्णय भएको हो,’ मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले भने । उनले मनमोहन मेडिकल कलेजमा थपिएको शैय्यामा मनमोहन अस्पतालका केही र केही स्वास्थ्य मन्त्रालयले जनशक्ति सहयोग गर्ने, खरिपाटी उपचार केन्द्रलाई भक्तपुर अस्पतालले व्यवस्थापन गर्ने, आयुर्वेद अस्पतालमा थप जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयले नै सहयोग गर्ने योजना बनाइएको जानकारी दिए ।

जोरपाटीको नेपाल मेडिकल कलेजले भने जनशक्ति आफै मिलाउने र विरामीहरुको उपचार गरेको आधारमा खर्चको सोधभर्ना गर्ने गरी मिलाइएको हो ।

डा अधिकारीले अरु निजी अस्पताल तथा मेडिकल कलेजसंग पनि आवश्यकता र सम्भावनाको आधारमा सम्झौँता गरी शैय्या थप्ने बताए ।

लकडाउन खुले यता काठमाडौँ उपत्यकामा संक्रमणले तिब्रता पाएको छ । पछिल्लो साता दैनिक एक सय बढी संक्रमण हुन थालेको छ । ठूला अस्पतालमा स्वास्थ्यकर्मीमै संक्रमण देखिदा सेवामा थप कठिनाई उत्पन्न भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *