कोभिड-१९ का गम्भीर बिरामीलाई कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिको उपचार गरिदै

फाइल फोटो

काठमाडौँ, ३० साउन । त्रिवि शिक्षण अस्पतालले कोरोना भाइरस (कोभिड – १९)को संक्रमणमा परी गम्भीर अवस्थामा पुगेका थप दुई बिरामीलाई कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरेको छ ।

अस्पतालले गत बुधबार र विहीबार गरी थप दुई जनामा प्लाज्मा थेरापी विधिबाट उपचार गरेको हो । यसअघि गम्भीर अवस्थाका एक बिरामीमा प्लाज्मा थेरापीबाट उपचार गर्दा बिरामीमा चमत्कारिक सुधार भएको थियो ।

यस्तै शहीद शुक्रराज सरुवारोग अस्पतालले पनि एक विरामीमा प्लाज्मा थेरापी दिएको छ । उता निजी अस्पतालहरु नेपाल मेडिसिटी र ग्राण्डीमा पनि सो विधिबाट उपचार गरिएको बताइएको छ ।

तर ती अस्पतालमा कति जनामा यो विधिबाट उपचार गरियो खुलाइएको छैन् । केहीमा सुधार आएको छ केहीमा आएको छैन् । अस्पताल स्रोतहरुले भन्यो ।

यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामा पुगेका कोरोना संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरी अध्ययन् गर्न तीनवटा निजी सहित १२ वटा अस्पताललाई स्वीकृति दिएको थियो ।

‘अहिले त्यहि अस्पतालहरुबाट विरामीहरुलाई प्लाज्मा विधिबाट उपचार गरिएको हो । अहिले प्लाज्मा थेरापी विधिको अनुसन्धान मै छ । त्यसैले कतिलाई दिईयो, कस्तालाई दिइयो , कुन अस्पतालमा दिइयो यी कुराहरु गोप्य नै रहन्छ । अनुसन्धान सकिएपछि नतिजा त सार्वजनिक भई नै हाल्छ,’ परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले भने ।

कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका १८ बर्ष माथिका बिरामीको उपचारलाई सहज बनाउन यो अनुसन्धान गरिएको उनले बताए ।

‘यसलाई हामीले कन्भालेसेन्ट प्लाज्मा थेरापीको सम्भाव्य अकलोकन क्लिनिकल अध्ययन नाम दिएका छौँ । अध्ययनका लागि तीनवटा निजी र नौ वटा सरकारी अस्पताल तोकिएका छन् । यी तोकिएका अस्पतालमा उपचाररत यदि १८ बर्ष माथिका व्यक्ति गम्भीर अवस्थामा पुगेर यो विधि अपनाउन चाहेको खण्डमा यो उपचार हुनेछ । तर दाता र ग्रहण कर्ता दुबैको सहमति हुनुपर्नेछ,’ डा ज्ञवालीले बताए ।

कुन कुन अस्पतालले गर्न पाउँछन् प्लाज्मा थेरापीबाट उपचार ?

डा ज्ञवालीका अनुसार यो अध्ययनका लागि तीनवटा निजी र नौ वटा सरकारी तथा सामुदायिक गरी १२ वटा अस्पताल तोकिएका छन् । निजी तर्फ नेपाल मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल तोकिएको छ ।

सरकारी तथा सामुदायिक तर्फ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल रहेका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, भक्तपुर अस्पताल, नारायणी अस्पताल, भेरी अस्पताल र सेती अस्पताल पनि यो विधिबाट उपचार गर्नका लागि स्वीकृती पाएका छन् ।

यो विधिमा सहभागी हुन चाहने दातामा कोरोना उपचार गरि ठिक भएको हुनुपर्ने, १४ दिन यता कोरोनाको लक्षण नदेखिएको हुनुपर्ने लगायतको प्रावधान राखिएको छ । यस्तै ग्रहण कर्ता १८ बर्ष माथिको हुनुपर्ने, स्वास्थ्य अवस्था गम्भीर भएको हुनुपर्ने लगायतको मापदण्ड छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *