त्रिवि शिक्षण अस्पतालका चिकित्सक र नर्स गरी ६ जनामा कोरोना संक्रमण, आकस्मिक कक्ष सिल गरियो

काठमाडौँ, २८ साउन । त्रिवि शिक्षण अस्पतालको दुई जना चिकित्सक र चार जना नर्समा कोरोना संक्रमण देखिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना मेडिकल अफिसर र मेडिसिन वार्डमा कार्यरत चार जना नर्समा संक्रमण देखिएको हो । सो वार्डको २ जना नर्समा सोमबार संक्रमण देखिएको थियो ।

अस्पतालका निर्देशक प्राडा रोहितकुमार पोखरेलले दुई जना मेडिकल अफिसरमा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको बताए । उनले विहीबार त्यहाँ कार्यरत अन्य चिकित्सक नर्स तथा अन्य कर्मचारीको परीक्षण गरी नतिजा आएपछि मात्रै सेवा सुचारु गर्ने बारेमा एकीन हुने जानकारी दिए । ‘आज र भोलिका लागि त सेवा बन्द नै छ । त्यसपछि आउने पीसीआर रिपोर्टको आधारमा बाँकी निर्णय हुन्छ,’ निर्देशक डा पोखरेलले भने ।

उनले आज थपिएका नर्सहरु मेडिसिन वार्डका भएको बताए । ‘उहाँहरु आकस्मिक कक्षमा कार्यरत होइन । वार्डमा कार्यरत हुनुहुन्थ्यो । त्यहाँ पनि अव प्राइमरी कन्ट्याक्टमा रहेकाहरुको पहिचान गरी होम आइसोलेसनमा रहन निर्देशन दिइसकेको छौँ । कतिपय होम र कतिपय होटल क्वारेन्टिनमा बस्नु भएको छ । बाँकी ठाँउहरुमा सेवा सूचारु नै छ,’ उनले भने ।

शिक्षण अस्पतालमै रहेको वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रमा कार्यरत एक जना दृष्टि विशेषज्ञलाई मंगलबार मात्रै कोरोना पुष्टि भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *