कोभिड- १९ को उपचारमा रातदिन खटेका अस्पताल प्रमुखलाई कालोमोसो दल्ने प्रयास, अर्का चिकित्सकको गाडी फुटाइयो

पर्सा, २६ साउन । कोरोना भाइरस (कोभिड – १९) को संक्रमितको उपचार गर्दा गर्दै नारायणी अस्पतालका चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मी समेत गरी ४५ जना संक्रमणमा परेका छन् । ठूलो संख्यामा स्वास्थ्यकर्मी नै संक्रमणमा नारायणी अस्पताल सिल गरिएको छ ।

तर, आइतबार दिउसो स्थानीयको एउटा समूह आयो, जवरजस्ती अस्पताल भित्र छिर्‍यो, आकस्मिक कक्ष तोडफोड गर्‍यो, उपचारमा खटिएका चिकित्सकको पार्किङ गरेर राखेको गाडी फुटायो र चिकित्सक विरुद्ध चर्का नाराबाजी गर्‍यो । सोही समूहले मेडिकल सुपरीटेन्डेन डा मदनकुमार उपाध्यायलाई कालोमोसो दल्ने भन्दै खोजी समेत गर्‍यो , भाग्यबस उनी हुलदंगा गर्ने समूहबाट जोगिए । नारायणी अस्पतालले आफ्नो मातहतमा लिएर चलाएको गण्डक अस्पतालको कोभिड – १९ टिम संयोजक डा. उदयनारायण सिंहको गाडी भने जोगिएन् । सिसा फुटाइए ।

‘हामीले त रातदिन आफ्नो ज्यानको पर्वाह नगरी सेवा दिएका थियौँ तर त्यसबापत हामीमाथि नै हातपात र कालोमोसो दल्ने भन्दै भिड आइपुग्यो । यसले कोरोना विरुद्धको युद्धमा कसरी बिजयी हुन सकिएला ? ‘ नारायणीका मेसु डा. उपाध्यायले भने ।

गण्डक कोभिड – १९ का संयोजक रहेका डा सिंहले रातदिन सेवा दिइरहेको अस्पताल र चिकित्सकमाथि नै यसरी आक्रमणको प्रयास हुन्छ भने कसरी सेवा प्रवाह गर्न सकिन्छ ? भन्दै प्रतिप्रश्न गरे । चिकित्सक संघ नारायणी शाखाको सचिव समेत रहेका उनले आज दिउसो २ बजेसम्म दोशीमाथि कारवाही, थप जनशक्ति र सुरक्षा उपलव्ध नगराईए आफूहरु सेवा दिन नसक्ने बताए ।

कसरी भयो यस्तो अवस्था ? 
मेसु डा उपाध्यायका अनुसार पछिल्लो समय वीरगञ्ज कोरोनाको हटस्पट बनेको छ । कोरोना समुदायस्तरमा फैलिएको अनुमान छ । संक्रमण यसरी छरियो कि उपचारमा सम्लग्न चिकित्सक तथा नर्सहरुलाई समेत यसले संक्रमण गर्दै लग्यो । नारायणी अस्पतालका मात्रै ४५ जना बढीमा संक्रमण भएपछि सेवा बन्द गर्नुको विकल्प भएन ।

पछिल्ला केही दिन यता वीरगञ्जमा कोभिडको कारण मृत्यु हुनेको संख्या पनि बढ्यो । यता बन्द छ, खुलेका केही निजी अस्पतालले विरामी लिन अघि पीसीआर रिपोर्ट खोज्ने र यता र उता फर्काउने अवस्था भयो । बिरामी यता र उता गर्दा गर्दै केहीको ज्यान समेत गयो । यसबाट स्थानीयबासी स्वभाविक रुपमा आक्रोशित भए । त्यसैमा केही अराजक तत्व मिसियो र भौतिक आक्रमणको प्रयास गर्‍यो । मृत्यु भएकोप्रति हामी पनि दुखित छौँ, तर यसमा हाम्रो दोष हो भनेर जो बुझिएको छ र भनिएको छ त्यो विल्कुल गलत हो । महामारीको बेलामा एक अर्कालाई सहयोग गर्नुपर्छ । सरकारी निजी दुबैले उसै गरी सेवा दिनुपर्दथ्यो । त्यो भएन । यहिबाट बाताबरण विग्रियो ।

यसैबीच सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आइतबार नारायणी अस्पतालमा घटेको घटनाको भत्सना गर्दै दोशीमाथि कडा कारवाही गर्न सरकारसंग माग गरेको छ । गोदानका अध्यक्ष डा रविन खड्का र महासचिव डा कीर्तिपाल सुवेदीद्धारा जारी विज्ञप्तीमा चिकित्सकमाथि आक्रमण गर्ने व्यक्तिहरुको पहिचान गरी गैर जमानति हिरासतमा लिएर कारवाही गर्न समेत माग गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *