स्वास्थ्य राज्यमन्त्री रावतसहित मन्त्रालयका तीन दर्जन कर्मचारी क्वारेन्टिनमा

काठमाडौँ, २५ साउन । स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्राइमरी कन्ट्याक्टमा रहेका स्वास्थ्य राज्यमन्त्री नवराज रावत सहित मन्त्रालयका करीव तीन दर्जन कर्मचारी क्वारेन्टिन गएका छन् । ती मध्ये केही कर्मचारीले होम क्वारेन्टिन रोजेका छन् । होम क्वारेन्टिन सम्भव नभएका केही कर्मचारीहरुलाई गोदावरीस्थित कस्तुरी होटलमा लगेर राखिएको छ ।

स्वास्थ्य राज्यमन्त्री रावत आफ्नै क्वाटरमा रहने भएका छन् । तर उनका परिवारलाई गोदावरी पठाइएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्क (प्राइमरी कन्ट्याक्ट)मा रहेका मन्त्रालय समन्वय महाशाशाखा, लेखा शाखा, नीति योजना महाशाखा लगायतका विभिन्न शाखामा कार्यरत करीव तीन दर्जन मध्ये आधा जसोले होम क्वारेन्टिन रोजेको बताइएको छ । क्वारेन्टिनमा रहेका उनीहरुलाई करीब ६ दिन पुगेपछि स्वाब लिएर पीसीआर जाँच गर्ने योजना मन्त्रालयको छ ।

मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)का संयोजक एवं सहसचिव डा गुणराज लोहनीले संक्रमित कर्मचारीसंग प्राइमरी कन्ट्याक्टमा रहेका सबै कर्मचारीलाई क्वारेन्टिनमा पठाइएको बताए ।

औषधि व्यवस्था विभाग आंशिक बन्द, फार्मेसी काउन्सिल बन्द
यसैबीच स्वास्थ्य मन्त्रालयमा संक्रमित देखिएका कर्मचारीको परिवारले औषधि व्यवस्था विभागको क्यान्टिन चलाउने, त्यहाँबाट विभाग र काउन्सिलमा चिया खाजा लैजाने गरेको पाइएको छ ।

एक जना सदस्यलाई संक्रमण देखिएपछि फार्मेसी परिषदले सूचना निकालेर सेवा अनिश्चित कालका लागि बन्द गरेको बताएको छ ।

काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेले सेवा सुचारु गर्दा संक्रमण फैलने खतरा बढेको भन्दै तत्कालका लागि कार्यालय बन्द गरेको बताए ।
उता औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले आफ्नो कार्यालय आंशिक रुपमा बन्द गरेको बताए । ‘बढी भिड हुने फार्मेसी दर्ता शाखा छ । त्यो बन्द गरिएको छ । अरु पनि आवश्यक परेमा बन्द गर्दछौँ,’ उनले भने ।

मन्त्रालयमा गत शुक्रबार ८४ जनाको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा तीन जना कार्यालय सहयोगी र एक बाहिरको व्यक्ति सहित चार जनामा संक्रमण देखिएको थियो ।

मन्त्रालयका अधिकारीहरुले यसअघि एक जना सवारी चालक भएको बताएका थिए । तर डा लोहनीले मन्त्रालय बाहिरको व्यक्ति भएको हुनसक्ने संकेत गरे ।

पछिल्लो चौविस घण्टामा उपत्यकामा ९२ सहित देशभर ३८० जनामा संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *