लक्षण भएका कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

0
Shares

काठमाडौँ, १६ साउन । लकडाउन खुलेसंगै देशमा लक्षण सहितका कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लक्षण भएका संक्रमितको संख्या बढदै जाँदा विज्ञहरुले भने कोरोना भाइरसको संक्रमण दरसमेत बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

अहिले त्रिवि शिक्षण अस्पतालको कोभिड- १९ अस्थायी युनिटमा पाँच जना कोरोना भाइरस (कोभिड- १९) संक्रमितहरु उपचाररत छन् । ती मध्ये चार जना लक्षण भएकाहरु हुन् । ती मध्ये एक जनालाई त आइसीयूमा राखिएको कोभिड -१९ युनिटका संयोजक प्राडा शान्तकुमार दासले जानकारी दिए ।

यता टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना पोजेटिभ अहिले ३८ जना उपचाररत छन् । ती मध्ये एक तिहाई बढीमा लक्षण देखिएको अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारी बताउँछन् ।

उता पाटन अस्पतालमा अहिले कोरोना संक्रमणमा परी उपचार गराईरहेकाको संख्या ४० छ । अस्पतालका निर्देशक प्राडा विष्णुप्रसाद शर्मा भन्छन् सामान्य र मध्यमखालको लक्षण भएकाहरुको संख्या बढी छ । उनले आफूकहाँ ४ जना आइसीयूमा उपचाररत रहेको समेत जानकारी दिए ।

वीरगञ्जस्थित नारायणी कोभिड अस्पताल गण्डकमा ६१ जनालाई राखिएको छ । संक्रमणमा परेका अस्पतालका स्टाफ बाहेक बाहिरबाट आएका अधिकांशमा कोरोनाको लक्षण छ ।

टेकुु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन भने यसलाई दुईकोणबाट हेर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘एउटा त यो कोरोना कै पनि हुनसक्छ । अर्को यो सिजन फ्लु देखिने सिजन पनि हो । त्यसले पनि उस्तै उस्तै लक्षण देखिएको हुनसक्छ । त्यो कन्फर्म गर्न परीक्षण गराउनुपर्छ ।’

डा  पुनले लक्षण देखिएकामा फ्लु नभएर कोरोना भाइरस मात्रै भएको भए यो राम्रो संकेत नहुने बताए । ‘यसले त व्यक्तिलाई आइसीयूसम्म पु¥याउन सक्छ । तर यदि फ्लु जाँच भयो र फ्लु भएको पत्ता लागेमा त्यसको खोप दिन सक्छौँ । यसले जोखिमको सम्भावना पनि कम हुन्छ,’ उनले भने । डा पुनले लक्षण नभएको संक्रमितबाट भन्दा लक्षण भएकोबाट भाइरस सर्ने सम्भावना बढी हुने समेत प्रष्ट पारे ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *