मुटुको परीक्षणका लागि प्रधानमन्त्री ओली पुगे गंगालाल अस्पताल
काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली मुटुको परीक्षण गराउन बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । उनको त्यहाँ मुटुको ईको तथा इसीजी जाँच गरिदैछ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री गंगालाल अस्पताल पुगेको बताए ।
‘कुनै स्वास्थ्य समस्या भएर होइन । नियमित चेकजाँचका लागि गंगालाल जानु भएको हो । अब परीक्षण सकिन लागिसकेको छ । त्यसपछि एकछिनमा फर्किने कार्यक्रम छ,’ थापाले भने ।
पछिल्लो समय स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीमाथि सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर चर्को आलोचना भएको खबर आइरहेको छ । कतिपयले पछिल्लो राजनीतिक घटना क्रमले प्रधानमन्त्री ओलीमा थप तनाव सिर्जना भएको अनुमान समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।
सम्पर्क इमेल : [email protected]