प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा भारतीय डाक्टर अनन्तकुमार पनि सहभागी हुने, काउन्सिलबाट लिए स्विकृति
काठमाडौ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा एक जना भारतीय डाक्टर पनि सहभागी हुने भएका छन् । म्याक्स अस्पतालका प्राडा अनन्तकुमार मिर्गौला प्रत्यारोपणमा सहभागी हुने भएका हुन् । त्यसका लागि उनले नेपाल मेडिकल काउन्सिलबाट मंगलबार ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति समेत लिएका छन् ।
ओलीको प्रत्यारोपणमा सघाउन भारतबाट दुई जना चिकित्सक आएका छन् । तर अर्का एक जना चिकित्सक अव्जरभेसनमै रहने भन्दै स्वीकृति लिएका छैनन् ।
‘भारतबाट दुई जना चिकित्सक आउनु भएको रहेछ । एक जना प्रत्यारोपणमै सहभागि हुने भनेर निवेदन दिनु भयो । हामीले ६ दिनका लागि स्वीकृत गरेका छौँ । अर्का एक जना अव्जरभेसनका लागि बस्ने हुनुहुँदो रहेछ । त्यसका लागि स्वीकृति लिई रहनु आवश्यक छैन भनिदियौँ,’ काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा कृष्ण अधिकारीले बताए ।
प्रधानमन्त्री ओलीको भोलि विहान ९ बजे देखि प्रत्यारोपण शुरु हुने भएको छ । प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली लगायतको टोलीले प्रत्यारोपणको नेतृत्व गर्नेछ ।
ओलीलाई उनकी भान्जी नातापर्ने एक महिलालले मिर्गौला दिनेछिन् ।
प्रधानमन्त्री ओली र मिर्गौला दाता उनकी भान्जी सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
यसैबीच प्रधानमन्त्री ओलीको आज डायलासिस गरिएको छ । दिउसो दुई बजे उनको डायलासिस गरिएको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ । यस्तै आजै अन्य ल्याव टेष्ट समेत गरिएको स्रोतले जानकारी दियो ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

