गैरचिकित्सकलाई स्वास्थ्य विभागको महानिर्देशक बनाएको भन्दै एनएमएको आपत्ति

काठमाडौँ, १२ फागुन ।  स्वास्थ्य सेवा विभागको नेतृत्वमा गैर चिकित्सक पुगेको भन्दै नेपाल चिकित्सक संघ (एनएमए)ले आपत्ति जनाएको छ । उसले विभागको महानिर्देशक गैर चिकित्सक बनाउने कार्य तत्काल सच्याउन माग गर्दै अन्यथा कडा कदम चाल्ने चेतावनी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गत ८ फागुनमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशक पदमा महेन्द्रप्रसाद श्रेष्ठलाई पठाउने निर्णय गरेका थिए । श्रेष्ठले सोमबार (आज) विभागमा पुगेर पदवहाली गरेका छन् । उनले पदवहाली गरकै दिन चिकित्सक संघले आपत्ति जनाएको हो ।

संघका अध्यक्ष डा लोचन कार्कीद्धारा आज अपरान्ह जारी विज्ञप्तीमा विभागको नेतृत्व गैर चिकित्सकले गर्दा चिकित्सा ज्ञानको पूर्ण उपयोग गर्न नसक्ने र चिकित्सकको भावना अनुरुप काम हुन नसक्ने उल्लेख छ । अहिलेसम्मको इतिहासमा विभागको नेतृत्व चिकित्सकले गर्दै आएको भन्दै पछिल्लो कदमले चिकित्सकहरुको मनोवल गिर्ने ठोकुवा गरिएको छ ।

विभागको महानिर्देशक पद समूहकृत होइन : महानिर्देशक श्रेष्ठ

गैर चिकित्सक महानिर्देशक हुन नपाउने भन्ने चिकित्सक संघको माग प्रति नव नियुक्त महानिर्देशक श्रेष्ठले भने बुझाई फरक परेको हुनसक्ने बताए ।

‘चिकित्सक साथीहरुले के बुझ्नु परयो भने । स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औँ तहको पद हो । र १२ औँ तहको पद समूहकृत पद होइन । यो विशिष्ठ श्रेणीको पद हो । १२ औँ तहमा चिकित्सक मात्रै होइन, हामीजस्तो जनस्वास्थ्य समूह, नर्सिङ समूह, फार्मेसी समूह वा स्वास्थ्यको जुनसुकै समूहबाट पनि बढुवा हुनसक्छ । अनि महानिर्देशक बन्न सक्छ । र अहिले मेरो नियुक्ति सोही पदमा भएको हो । र त्यो निमित्तको रुपमा हो । काम काज गर्न हो,’ श्रेष्ठले भने ।

उनले निजामतिमा एघारौँ तहबाट नै समूहकृत हटाइएको तर स्वास्थ्यमा १२ औँ तहमा मात्रै समूहकृत हटेको बताए । ‘त्यसैले म मात्रै होइन विभागको महानिर्देशक पद नर्सिङ समूहको पनि बन्न मिल्छ,’ उनले भने ।

थर्मल स्क्यानर र इन्फाइरेड थर्मामिटर खरिद गर्ने पहिलो निर्णय
महानिर्देशक श्रेष्ठले जिम्मेवारी सम्हाले लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको हेल्थडेस्कको आकस्मिक निरीक्षण गरेका छन् । सो क्रममा उनले हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरुसंग कार्यस्थितिबारे जानकारी लिएका छन् ।

सो क्रममा एउटा थर्मल स्क्यानर विग्रिएको र इन्फाइरेड थर्मामिटरको समेत अभाव भएको जानकारी पाएपछि द्रुत प्रक्रियाबाट यी सामग्री खरिद गर्ने निर्णय भएको सुनाए । ‘पहिलो निर्णय स्क्यानर र इन्फाइरेड थर्मामिटर किन्ने निर्णय भएको छ,’ उनले भने ।

त्यसअघि विभागमा भएको पदवहाली सहारोहमा निवर्तमान महानिर्देशक डा रोशन पोखरेलले श्रेष्ठको स्वागत गरेका थिए । सो क्रममा श्रेष्ठले सबैसंग हातेमालो गरी अघि बढ्ने बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “गैरचिकित्सकलाई स्वास्थ्य विभागको महानिर्देशक बनाएको भन्दै एनएमएको आपत्ति

  1. डा. लोचन तपाई हरु जस्तो बुध्दीजिवी ले पनि प्रसान बुझन् छोडेको देख्दा अच्म लाग्यो. बिरोधको लागि बिरोध गर्नु ठीक होईन्.

Leave a Reply to jot pat Cancel reply

Your email address will not be published. Required fields are marked *