मतगणनामा किन झिकियो बखेडा ? डा. मधुरको जवाफ यस्तो

काठमाडौँ, २३ माघ । मंगलबार सम्पन्न भएको नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना बुधबार विहानैबाट गर्ने भनिएको थियो । तर मतगणनाका प्रक्रियाका विषयमा विवाद बढदै जाँदा दिनभर शुरु हुन सकेन । बेलुका गणना गर्न सहमतिमा पुगेर मतपेटिका समेत खोलिसकेपछि पुन विवाद शुरु भयो ।

पेशागत समावेसी समूहबाट महासचिव पदमा उम्मेद्धार बनेका डा मधुर बस्नेतले उपत्यका बाहिर भोट हालेका केही व्यक्तिले उपत्यकामा पनि भोट हालेको शंका लाग्यो भन्दै मतदान र हाजिरी हेर्न माग गरे । उनको मागमा सोही समूहबाट उम्मेद्धार बनेकाहरुले सहमति जनाए ।

यहि कुरामा विवाद बढदै गयो । निर्वाचन समितिले अनिश्चितकालिन रुपमा मतगणना स्थगित गरयो । त्यसबेला देखि नै डा मधुरमाथि विपक्षी समूहका चिकित्सकहरुले स साना कुरामा बखेडा झिकेर मतगणना कार्य भाड्न खोजेको आरोप लगाएका छन् ।

तर उनले सो आरोपको खण्डन गर्दै आज विज्ञप्ती जारी गरेका छन् ।

किन झिकियो बखेडा ?

हेरौँ उनको विज्ञप्ती………

नेपाल चिकित्सक संघको हालै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा मिति २०७६/१०/२२ मा निर्वाचन समितिका तर्फबाट एकतर्फी रूपमा निर्णय गरी मतगणना स्थगन गर्ने कार्य गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र हाम्रो आपत्ति रहेको जानकारी गराउन चाहन्छौं |

घटना विवरण:
१. मिति २०७६/१०/२१मा सम्पन्न भएको मतगणना प्रक्रिया ढीलो गरी २०७६/१०/२२ साँझ सबै उम्मेदवार/प्रतिनिधिको उपस्थितिमा शुरु भएको थियो |

२. मत गणनाका क्रममा लुम्बिनी, दांग, सुर्खेत र जुम्ला गरी जम्मा चार मतदान केन्द्रको मतपेटिका खोलि मतपत्रहरु मिलाउने क्रममा थियो |

३. त्यही शिलशिलामा हामीले ती मतदान केन्द्रहरुको हाजिरी तथा मतदानको मुचुल्काको फाइल देखाउन( जुन कुरा कुनै पनि निर्वाचनको आधारभूत मान्यता हो) माग गर्दा निर्वाचन समितिले आनाकानी गर्नु भयो तर हाम्रो अडान कायमै रहेपछि ढिलो गरी ती मुचुल्का एवं हाजिरी उपलब्ध गराइयो |

४. हाजिरीको रुजु गर्ने क्रममा केही शाखा कार्यालयबाट मतदान गर्नु भएका मतदाताले काठमाडौँ केन्द्रीय कार्यालयमा समेत मतदान गरेको आशंका लागि काठमाडौँ मतदान केन्द्रको हाजिरी देखाउन माग गर्दा प्रमुख निर्वाचन अधिकृतज्युले त्यो “हाजिरी देखाउन नमिल्ने” जिकिर गर्नु भयो र त्यसो भएमा आफुले “राजीनामा दिने” समेत बताउनु भयो |

५. हाजिरी माग्नु जायज भएको र हाजिरी देखाउनु निर्वाचन समितिको कर्तव्य भएको कुरा मतगणनामा उपस्थित हाम्रा प्रतिष्पर्धी उम्मेदवारहरुले समेत स्वीकार गरी देखाउन आग्रह गरे पश्चात प्रमुख निर्वाचन अधिकृतज्युले एकतर्फी रूपमा मतगणना कार्य स्थगन भएको घोषणा गरी विज्ञप्ति जारी गर्नुभएको हो |

(यी सबै कुरा CCTV को निगरानीमा भएकोले कसैलाई हाम्रो दाबी गलत लागेमा संघको कार्यालयमा भएको उक्त समयको रेकर्ड हेरेर पुष्टि गर्न सक्नुहुनेछ) |

यसरी मतगणनाका क्रममा निर्वाचन समितिले निर्वाचनमा सहभागी मतदाताको हाजिरी रूजू गर्न पाउने उम्मेदवार/प्रतिनिधिको आधारभूत अधिकारको समेत कुण्ठित गरी एकतर्फी रूपमा मतगणना स्थगित गरेको घटनालाई बंग्याई म महासचिवको उम्मेदवारको “हठ” र “दम्भ”का कारण मतगणना प्रक्रिया स्थगन भएको भ्रम फैलाउन भैरहेको कुचेष्टाको म जोडदार खण्डन गर्दछु र यसरी संचार माध्यम र सामाजिक संजालमा मेरा विरुध्द अफवाह फैलाउन कोशिशरत महानुभावहरुलाई यो कुरामा हाम्रो गल्ती पुष्टी गर्न चुनौती समेत दिन चाहन्छु |

चिकित्सक संघको यस निर्वाचनका क्रममा मतदाता बनाउनेदेखि, प्रचार प्रसार, मतदान हुँदै मतगणनासम्म आइपुग्दा निकै धेरै कमी कमजोरीहरु देखिएका छन् | अनजानमा हुने कमजोरीलाई नजर अन्दाज गर्न सकिन्छ तथापि जब कमीकमजोरीहरु संथागत अनि नियोजित रूपमा घटाइन्छ “बखेडा नझिक्ने” नाममा त्यसलाई टुलुटुलु हेरेर बस्न सकिन्न | अझै जब ती कमी कमजोरीहरु हाम्रो माउ संस्था कमजोर हुनुको एक कारक बन्न पुग्छन त्यो बेला अझै चुप लागेर “रमिता हेरेर” बस्न सकिन्न | अहिले हामीले गरेको त्यति मात्र हो |

अबको बाटो:
यसरी जब निर्वाचन समितिले नै भएका कमी कमजोरी सच्च्याउँदै समस्या समाधान गरेर अघि बढ्नुको साटो उम्मेदवार तथा प्रतिनिधिको आधारभूत अधिकार हनन गर्दै एकतर्फी रूपमा मतगणना स्थगन गरेर उम्मेदवारहरुमाथि दोष थोपरेर पन्छिन खोज्छ, तब यहाँ गम्भीर समस्या पक्कै छ भनेर हामी सबैले बुझ्नु जरूरी छ | तसर्थ अहिले मतगणना स्थगन हुनुको प्रमुख कारण “कुनै मतदाताले शाखा र केन्द्र” दुवैतिर बाट मतदान गरेको आशंका भएकाले सबैभन्दा पहिले कुन कुन शाखाबाट मतदान गरेका मतदाताले केन्द्रबाट समेत मत खसाल्नुभयो भन्ने यकिन गरी यदि त्यसरी दुइतिरबाट मत खसालेको भए के गर्ने भन्ने निर्क्यौल गरी अबिलम्ब मतगणना कार्य सुचारू गर्न हामी जोडदार माग गर्दछौं |

साथै यी विवादहरुले समेत यस अघि हामीले माग गरेको “मतदान केन्द्र अनुसार मतगणना गर्नुपर्ने” मागलाई थप पुष्टी गरेको छ | यसो गर्दा कुनै एक केन्द्रमा विवाद भएमा सो केन्द्रको बारेमा मात्र निर्णय लिन सजिलो हुन्छ |

यसै गरी मतगणना थप पारदर्शी, विश्वसनीय एवं सजिलो बनाउनको निम्ति “Video Projection” गरी सबै मतगणना एकै स्थलमा गर्न र रातको समयमा मतगणना गर्दा गल्ती हुने सम्भावना ज्यादा भएकाले बिहान ८/९ बजेदेखि बेलुका ५/६ बजेसम्म मात्र गर्ने व्यवस्था गर्न समेत माग गर्दछौँ |

डा. मधुर बस्नेत, महासचिव उम्मेदवार, पेशागत समावेशी समूह |
मिति: २०७६/१०/२३, बिहीबार, काठमाडौँ |

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *