‘सूर्तिमुक्त नगर’ बनाउन भरतपुर महानगरको ८ बुँदे निर्णय

चितवन, १८ माघ । सूर्तिजन्य पदार्थ र नसर्ने रोगहरूविरुद्ध एसिया प्रशान्त क्षेत्रका नगरहरूको दबाब समूह ‘एशिया प्यासिफिक सिटिज् अलाइन्स फर टोवाको कन्ट्रोल एण्ड नन् कम्युनिकेवल डिजिज’ (एपी – क्याट) को पाँचौ शिखर सम्मेलन गर्ने तयारीमा जुटेको भरतपुर महानगरपालिकाले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने अभियानलाई संगसंगै अघि बढाएको छ ।

अभियान अन्तरगर्त महानगरले जनचेतनामुलक कार्यक्रम गर्ने देखि निषेधित क्षेत्र घोषणा गर्ने सम्मका कार्यक्रम अघि बढाएको हो ।

शुक्रबार भरतपुरमा बसेको एपीक्याट तयारी समितिको बैठकले सूर्तिजन्य पदार्थ नियन्त्रण गर्ने योजना अन्तरगर्त आठ बुँदै निर्णय गरेको छ ।

महानगरका उपसचिव प्रधुम्न उपाध्यायका अनुसार शुक्रबारको बैठकले एक साता भित्र महानगर भित्रका सरकारी कार्यालयहरुमा धूमपान तथा सूर्तिसेवन निषेधित क्षेत्र लेखिएको स्टिकर टास्ने, भरतपुर महानगर कार्यालय र २९ वटै वडा कार्यालयहरु र त्यसवरपर १०० मिटर क्षेत्रलाई धूमपान तथा सूर्तिजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरि कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

यस्तै  विद्यालय, अस्पताल, मठ मन्दिर लगायतका सार्वजनिक स्थल र त्यसवरपरका १०० मिटर दुरीलाई धूमपान तथा सूर्तिजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्ने,  वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा काउन्सिलिङ डेस्क स्थापना गर्ने, उद्योग संघ, उद्योग बाणिज्य संघ, च्याम्बर अफ कमर्ससंग समन्वय गरी सबै उद्योगमा धूमपान तथा सूर्तिसेवन निषेधित क्षेत्र लेखिएको स्टीकर टास्ने र निषेधित क्षेत्रलाई कार्यान्वयनमा ल्याउने समेत निर्णय गरेको छ ।

उपाध्यायले त्यसको अनुगमन गर्न, उपसचिव, स्वास्थ्य हेर्ने प्रविधिक सहितको तीन सदस्यीय अनुगुमन टोली गठन गरेको समेत बताए ।

बैठकले एपी-क्याटको तयारी गर्न हरेक महिना बैठक गर्ने निर्णय गरेको छ ।

शुक्रबारको बैठकमा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले आगामी डिसेम्बरमा हुने एपीक्याट बैठकको तयारी र सूर्तिजन्य पदार्थ मुक्त महानगर बनाउने योजनालाई सार्थक बनाउन स्थानीय प्रशासनले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका कानून उपसचिव तथा स्वास्थ्य करकोषका सदस्य सचिव पुस्कर नेपालले एपीक्याट र त्यससंग जोडिएको सूर्तिमुक्त नगर घोषणा गर्ने अभियानमा गर्नुपर्ने तयारीका बारेमा प्रकाश पारेका थिए ।

यस्तै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सम्मेलन सफल बनाउन महानगर र सरोकारवाला निकायबीच समन्वय गरी अघि बढ्नु पर्ने बताए । उनले सूर्तिमुक्त नगर बनाउने अभियानका लागि योजनाबद्ध रुपमा कामहरु अघि बढाउनुपर्ने बताए ।

बैठकमा विभिन्न वडाका अध्यक्षहरु र अन्य सरोकारवाला निकायको उपस्थिति थियो । एपीक्याटको तयारी बैठक अव देखि हरेक महिना बस्ने समेत निर्णय भएको छ ।

एपीक्याटमा नेपाल सहित भारत, बंगलादेश, फिलिपिन्स, सिंगापुर, कम्बोडिया, मलेसिया, भियतनाम, इन्डोनेसिया, म्यानमार, लाओस, लगायत १२ देशका ६० वटा नगरहरु सदस्य छन् ।

भरतपुर महानगरपालिकाको आयोजनामा  आगामी १६ देखि १८ मंसिर ( १ देखि ३ डिसेम्बर २०२०)मा चितवनको भरतपुरमा हुने  उक्त सम्मेलनमा १५० बढी विदेशी सहित ३०० बढीको सहभागिता हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *