अब बच्चाको स्वास्थ्य परीक्षणपछि मात्रै खोप सेवा

बुटवल, १५ पुस । जिल्लाको मायादेवी गाउँपालिकाले खोप लगाउनु अघि बच्चाको स्वास्थ्य परीक्षण गर्नुपर्ने नियम अघि सारेको छ । खोप पछि बच्चामा अवान्चित घटना नहोस र खोपको बारेमा गलत सन्देश नजाओस भनेर यस्तो नियम अघि सारेको हो ।

गाउँपालिकाले खोपमा यस्तो नियम बनाई कार्यान्वयन गर्ने आफू देशकै पहिलो भएको दावी गरेको छ ।

नयाँ नियममा खोप लगाउन आएका बालबालिकाको पहिले नाम दर्ता गरिन्छ, त्यसपछि तौल, अनि पाखुवाको नाप र सबैखाले स्वास्थ्य परीक्षण गरिन्छ । यी सबैकुरामा पास भएपछि मात्रै खोप लगाइन्छ । यी परीक्षणमा बच्चालाई कुनै समस्या देखिएमा खोप लगाईँदैन र सुधार पछि मात्रै लगाइन्छ ।

गाउँपालिकाले सोमबार विशेष कार्यक्रम गरी स्वास्थ्य परीक्षण पछि मात्रै खोप दिने नियमको शुभारम्भ गरेको छ ।

कार्यक्रममा सहभागी हुन पुगेका स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका जनस्वास्थ्सय अधिकृत बसन्त श्रेष्ठले गाउँपालिकाको कार्यको प्रसंशा गरे । उनले यो कार्यको सुरुवात पछि बच्चाको अन्य स्वास्थ्य समस्याको पहिचान हुने र खोपकै कारण बच्चाको मृत्यु भयो भन्ने भ्रम चिर्न मद्धत पुग्ने दावी गरे । उनले खोप लगाउनु भन्दा पहिला गरिने स्वास्थ्य परीक्षणले तत्कालै त्यो बच्चालाई खोप लगाउन उपयुक्त छरछैन भन्ने कुरा सजिलै थाहा पाउन सकिने बताए।

गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप लगाउनुपूर्व बालबालिकाको स्वास्थ्य परीक्षण अनिवार्य गर्न तालिम दिइएको स्वास्थ्य संयोजक भास्कर आत्रेयले बताए।

गाउँपालिकामा १७ वटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ। सरकारको निःशुल्क खोप कार्यक्रम अन्तर्गत २ वर्ष मुनीका बालबालिकालाई विभिन्न ११ प्रकारका रोगविरुद्धको खोप लगाइने गरिन्छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ध्रुबनारायण चौधरीले बच्चाको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य परीक्षण पछि मात्रै खोप सेवा दिने कार्यको थालनी गरेको बताए । उनले गाउँपालिकाले सुरु गरेको अभियानलाई थप प्रभावकारी बनाउन सरोकारवालाहरुसंग सहयोगको आग्रह गरे।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख तथा खोप समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले खोपले रोगबाट बचाउने र अझ खोप लाग्नु भन्दा पहिले नै गरिने स्वास्थ्य परीक्षण झनै महत्वपूर्ण रहेको बताए।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद कुमार गिरीले सबै बालबालिकाले अनिवार्य रुपमा खोप लगाउनुपर्ने बताए।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र कुमार गिरीले मायादेवी गाउँपालिकाले सुरुवात गरेको कार्यक्रमले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *