राष्ट्रिय क्षयरोग निवारण केन्द्रद्धारा ‘जिन एक्सपोर्ट’ मेशिन हस्तान्तरण

228
Shares


वालिङ, १२ पुस । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पताललाई अत्यधुनिक ‘जिन एक्सपोर्ट’ मेशिन उपलब्ध गराएको छ । पुरानो मेशिन तथा प्रविधिको प्रयोग गरी क्षयरोग भए/नभएको पत्ता लगाउँदै आएको अस्पतालमा अत्याधुनिक मेशिन उपलब्ध भएसँगै सेवा छिटोछरितो र सहजरुपमा हुने वालिङ नगरपालिका स्वास्थ्य शाखाप्रमुख कमलप्रसाद पाण्डेले बताए ।

“पुरानो प्रविधि/यन्त्रबाट काम गर्दा झन्झटिलो र समय धेरै लाग्ने गथ्र्यो”, शाखाप्रमुख पाण्डेले भने, “अत्याधुनिक जिन एक्सपोर्ट मेशिनबाट दुई घण्टाभित्रै क्षयरोग भए/नभएको र औषधिले काम गरेको/नगरेको मात्रा पनि थाहा पाइने भएकाले तत्कालै उपचार थाल्न सक्छौँ ।”

जिन एक्सपोर्ट मेशिन धेरै महङ्गो भएकै कारण पनि धेरै अस्पतालमा नभएको राष्ट्रिय क्षयरोग निवारण केन्द्रका निर्देशक चिकित्सक सागर राजभण्डारीले बताए । “मेशिनको सदुपयोग गरी वास्तविक क्षयरोगी पत्ता लगाई उपचार गर्नु मुख्य उद्देश्य हुनेछ,” निर्देशक राजभण्डारीले भने, “यस अस्पतालबाट स्याङ्जासहित छिमेकी जिल्ला पाल्पा, गुल्मी र दक्षिण पर्वतका केही भेगका बिरामीलाई सहयोग पुग्ने भएकाले उपलब्ध गराएका हौँ ।”

क्षयरोगी पत्ता लगाई तत्काल उपचार गर्नका लागि अत्याधुनिक मेशिनको प्रयोगले ठूलो सहयोग मिल्ने विश्वास गह्रौँ प्राथमिक अस्पताल विकास समितिका अध्यक्ष एवं वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । क्षयरोगको उपचारका लागि टाढा टाढा जानुपर्ने बाध्यता हट्नेछ भने छोटो अवधिमै धेरैभन्दा धेरै बिरामीको परीक्षण गर्न सकिने भएकाले पनि सहज हुने अध्यक्ष खाँणको भनाइ थियो । “केन्द्रले जिल्लामै पहिलोपटक यस अस्पताललाई छनौट गरी अत्याधुनिक मेशिन उपलब्ध गराएको हो”, अध्यक्ष खाँणले भने । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *