‘के म विद्यार्थीको खुट्टा ढोग्न जाउँ ?’ – बसुरुद्धिन अन्सारी

काठमाडौँ, ६ मंसिर । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुलाई विहीबार राती कलेज सञ्चालकले धम्काएको, होस्टलमा जानबाट बन्चित गरेको आरोप लागेको छ ।

धर्नामा बसेका विद्यार्थीहरुले निजी मेडिकल कलेज सञ्चालकहरुका अध्यक्ष र चिकित्सा शिक्षा आयोगका सदस्य समेत रहेका कलेजका एमडी बसुरुद्धिन अन्सारीले आएर आफूहरुलाई धम्क्याएको, होस्टेलमा ताला लगाएर रातभर चिसो छिडीमा रहन बाध्य बनाएको बताएका छन् । नेपाली हेल्थले उनै अन्सारीसंग यहि विषयमा केन्द्रीत रहेर कुरा गरेको थियो ।

तपाईँ जस्तो जिम्मेवार व्यक्तिले धर्नामा रहेका विद्यार्थीहरुमाथि धम्की दिने, रातभरी चिसो छिडीमा राख्ने जस्ता यस्तो अमानवीय र गैरजिम्मेवार कार्य गर्न सुहाउँछ ?
पटक्कै सुहाउँदैन । यस्तो मैले मात्रै होइन कसैले पनि गर्नु हुँदैन । तर कुरा के छ भने, अहिले म कतै देखिए पनि मेरै दोष, म केही बोले धम्की हुने ।, मेरो होस्टलमा बस्छन्, मेरो होस्टलमा खान्छन्, अनि मलाई आएर गाली पनि गर्छन् । म केही बोलेको पनि छैन । मैले हिजो बेलुका गएर उनीहरुलाई सोधे किन यहाँ यसरी बसेको ? यो त राष्ट्रिय स्तरको कुरा हो भनेर भने । तर उनीहरु केही बोलेनन् । बोल्दैनन् भने खुट्टा ढोग्ने कुरा त भएन । म हिडेँ । पछि केही सिनियर विद्यार्थीहरुले उनीहरुलाई भने तिमीहरुले गर्दा हाम्रो यहाँ छ महिना देखिको कोर्ष डिस्टर्व भयो । ढिलाई भयो । अब होस्टल फि कसले तिर्ने ? खाना खर्च कसले तिर्ने ? छ छ महिना बर्बाद भयो तिमीहरुको कारण भनेर भने । तर मिडियाले एमडीले गुण्डा ल्यायो, आक्रमणको प्रयास भयो भनेर भन्छ । म के गरु ?

सिनियरले छ महिना ढिलाई भयो भनेको के ? कहाँ निर ढिलाई भयो ?
हामीकहाँ त भारतीय विद्यार्थीहरु पनि छन् । उनीहरुको त यहाँ पढाई सकेपछि उहाँ गएर निट एक्जाम दिनुपर्छ । समयमा परीक्षा दिन पाएनन् भने नतिजा आउन ढिलाई हुने भयो । यता एक महिना ढिलाई हुँदा उता निट दिन पाउँदैनन् । पीजी पढ्न पाउँदैनन् । छ महिना पछि निट हुन्छ । कुरा यहि हो तर मिडियामा आउँछ एमडीले आक्रमणको प्रयास गर्यो । यो गर्यो त्यो गर्यो । यस्तो गर्नु त भएन नि ।

तर तपाईँले होस्टलमा जान नदिन भनेर ताला लगाएर विद्यार्थीलाई रातभर बाहिर चिसो छिडीमा बस्न बाध्य बनाएको त हो नि ? यस्तो अमानवीय काम गर्न मिल्छ ?
सब बकवास कुरा । बेलुका सम्झाउँदा मेरो कुराको कुनै जवाफ नदिएपछि म हिडे । तर पछि सीडीओ साव एसपी सावले भन्नुभयो, तपाईँ जानुस र मिलाउनुस । अनि म गएर गेट खोलिदिएँ । तर मिडियाबाजी नै बढी भयो । म बोल्न पनि नहुने मेरो कलेज वरपर देखिन पनि नहुने, विद्यार्थीसंग त कुरा गर्न नै नहुने । यस्तो पनि हुन्छ ?

तपाईँले कतिबजे तिर होस्टल खोलिदिनु भयो त उसो भए ?
त्यहि आठ साढे आठ बजे तिर होला । पहिले गएर सम्झाउन खोजेँ । उनीहरुले मेरो कुरा सुनेनन् । कतैबाट गाईडेड होला किन सुन्थे र हाम्रो कुरा । त्यसपछि म घर आएँ र सुत्न लागेको थिएँ । फेरी एसपीसाव र सीडीओ सावले भन्नुभयो । तपाईँ गएर होस्टलमा जाने व्यवस्था गर्नुहोस भन्नुभयो । त्यसपछि गएर खोलिदिएको हो । तर हल्ला त अर्कै आईहाल्यो । अचम्म छ ।

यो लफडा त तपाईँहरुले विद्यार्थीसंग बढी शुल्क लिएर नै शुरु भएको हो नि ? शुल्क समायोजन गर्ने र समस्या सल्टाउने तिर किन नलाग्नु भएको ?
मेडिकल कलेजहरुको व्यथा तपाईँहरुलाई के थाहा, यो समस्या आउनुमा मेडिकल कलेज सञ्चालकको मात्रै दोष भनिएको छ । त्यो पनि गलत छ । तर पनि समस्या त परिसक्यो । अब यसलाई सुल्झाउनुको विकल्प छैन । त्रिविका उपकुलपति ज्यूले अस्ति हामीलाई बोलाउनु भयो । हामीले सबै कुरा भन्यौँ । उहाँले अन्य पक्षसंग पनि कुरा गर्नु भएको छ । हामीले यसलाई सुल्झाउने भनेकै छौँ । तर मिडियाले यस्तो बनाइदियो कि हामी भनेको पुरापुर ठग्नकै लागि आएको हो । हाम्रो मुख्य काम भनेकै ठग हो । यस्तो पनि हुन्छ ? राज्यका नियमक निकायले हेरेका छैनन् ? हामी कानून भन्दा माथि छौँ ?

उसो भए अब भर्ना प्रक्रिया छिटै शुरु हुन्छ ?
जुन उद्धेश्यले शुरु गरिएको योजना थियो । त्यो पुरा भयो । अब भर्ना छिटो गरे पनि के ढिलो गरे पनि के ।

कसले कस्तो उद्धेश्यले शुरु गरेको योजना भन्नु भएको ?
यो त विद्यार्थी बाहिर पठाउने गिरोहको योजना पनि थियो । त्यो अनुसार विद्यार्थी बाहिर पठाईसके । क्रिम विद्यार्थी बाहिर गईसके । अब भर्ना खोले पनि समस्या त हामीलाई नै पर्ने हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *