पहिले ब्रिफिङ सुन्छु त्यसपछि मेरा योजनाको प्राथमिकता निर्धारण हुन्छ : स्वास्थ्य मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ? तपाईँको योजना के के छन् ?
अहिले नै त यो गर्छु उ गर्छु भन्नु हुँदैन । तर म ढुक्कले काम गर्ने, आफै योजना बनाएर काम गर्ने मान्छे हुँ । पहिलो कुरा कर्मचारीहरको आफ्नो स्कुलिङ छ मेरो आफ्नो स्कुलिङ छ । त्यसैले यसलाई मिक्सअप कसरी गर्ने ? सहज कसरी बनाउने ? एक अर्कालाई हेल्पफुल कसरी बनाउने भन्ने म लाग्नेछु । तर यसको लागि केही समय लाग्छ ।

स्वास्थ्यमा आउने भनेपछि त केही योजना बन्यो होला नि ?
होइन, तपाईँलाई भनु हिजो बेलुका साढे नौ बजे मात्रै मैले जिम्मेवारी हेरफेर भएको थाहा पाएँ । हिजो सम्म त म कानूनकै थिएँ । त्यसैले आजै मैले यो गर्छु त्यो गर्छु भन्दिन । पहिले सचिव ज्यू, सहसचिव ज्यूहरु तथा कर्मचारी साथीहरु अर्थात मन्त्रालय विभागका अधिकारीसंग बस्छु । उहाँहरुको कुरा सुन्छु । उहाँहरुले कस्तो ब्रिफिङ गर्नु हुन्छ त्यो सुनेपछि मात्रै मेरा योजना बन्नेछन् ।

अर्को कुरा मैले वीरको ब्रिफिङ मन्त्रालयमा होइन त्यहि गएर, पाटन मानसिक अस्तपालको ब्रिफिङ मन्त्रालयमा होइन त्यहि गएर, विभागको ब्रिफिङ त्यहि गएर सुन्छु । बुझ्छु । फिल्डमा जाँदा त्यहाँको लोकेसन, मनो विज्ञान र खास समस्या नै थाह हुन्छ । त्यो एक खालको अध्ययन हप्ता १० दिनमा गरेपछि त्यो मैले पाएको फिडव्याकको आधारमा काम शुरु गर्छु । त्यसपछि मेरा कामहरु सुत्रबद्ध रुपमा अघि बढ्छन् । स्वास्थ्य सम्वन्धी नियमन कानूनको कार्यान्वयन गर्ने कुरामा मलाई कुनै कन्फ्युजन छैन ।

यसअघि अर्को मन्त्रालयको जिम्मेवारीमा रहँदा स्वास्थ्य मन्त्रालय प्रतिको रिडिङ कस्तो थियो ?
ठूलो संरचना भएको मन्त्रालय, जनताको स्वास्थ्यसंग जोडिएको मन्त्रालय, अपेक्षा धेरै भएको तर अहिलेसम्म त्यो कुरा महसुस नभएको हो कि ? भन्ने लाग्थ्यो । अर्को कुरा सेवा प्रदायक भन्दा पनि स्वच्छन्द ढंगले चल्ने खालको प्रबृत्ति छ भन्ने बाहिरबाट फिडव्याक पाएको छु । त्यसैले मेरो ध्यान अहिले इमान्दारिताका साथ काम गर्ने कुरा, समयमा गर्ने कुरा, विश्वास आर्जन गर्नेमा छ ।

आज बहाली गर्नु भयो अब भोली देखि नै केही प्राथमिकतामा त राख्नु भएको होला ?
भोलि देखिकै कुरा गर्दा त मन्त्रालयको बारेमा अध्ययन त गर्नु प¥यो । ब्रिफिङ सुन्नु परयो । त्यसैमा लाग्छु । मैले नबुझीकन यो गर्छु भन्न त मिलेन नि । उपप्रधानमन्त्री ज्यूले जिम्मेवारी सम्हाल्दा अघि बढाएका कामहरु, पार्टीका घोषणा पत्रमा स्वास्थ्यका प्रतिवद्धताहरु के कस्ता रहेछन् र काम के भएको छ भन्ने पनि मैले अध्ययन गर्छु । यो भन्दा अघिल्ला दुईवटा सरकारले नीति कार्यक्रम ल्याउँदा स्वास्थ्यका विषयहरु कसरी परेका छन् ? त्यो पनि हेर्छु । त्यसपछि मात्रै प्राथमिकता तोकिन्छ र काम अघि बढ्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *