चार वर्षमा २४ हजार नौ सय पटक डायलासिस


दमौली, ४ मंसिर । तनहुँको दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न मन्जु डायलासिस केन्द्रले मङ्गलबारबाट चार वर्ष पूरा गरेको छ । विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो ।

केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । उनका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलासिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलासिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२ रहेको छ ।

केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलासिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्कीका मिर्गौलापीडितले केन्द्रबाट नियमितरूपमा डायलासिस सेवा लिइरहेका पण्डितले जानकारी दिए । पण्डितका अनुसार हप्तामा दुईपटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६६ र हप्तामा तीनपटक डायलासिस सेवा लिने मिर्गौलापीडित छ जना रहेका छन् ।

केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेका छन् । केन्द्रमा दैनिक २४ देखि २७ मिर्गौलापीडितले डायलासिस सेवा लिइरहेका छन् । मिर्गौैलापीडितको चाप बढेकाले मागअनुसार सेवा दिन कठिन भएको छ । केन्द्रमा एकैपटक नौ जनाले डायलासिस सेवा लिन सक्छन् । भानु नगरपालिका–४ निवासी मुरली रानाभाटले दमौलीमै डायलासिस केन्द्र स्थापना भएपछि सहज भएको बताए । लमजुङका कमानसिंह गुरुङले पनि दमौलीबाट डायलासिस सेवा लिन पाउँदा सजिलो भएको बताए ।

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा छ डायलाइसिस उपकरण जडान गरिएका थिए । पछि तीन उपकरण थप गरेपछि केन्द्रमा हाल नौ डायलासिस उपकरण रहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *