डा. केसीलाई काठमाडौँ ल्याउने सरकारको प्रयास असफल, हेलिकप्टर रित्तै फर्कियो

काठमाडौँ, २५ कात्तिक ।  डडेल्धुरामा अनसनरत डा गोविन्द केसीलाई काठमाडौँ ल्याउने सरकारको प्रयास विफल भएको छ । डा केसीका समर्थकले जवरजस्ती काठमाडौँ लैजान नदिने भन्दै विहान देखि प्रदर्शन गरेपछि आजको प्रयास विफल भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

डा केसीलाई लिन आज विहानै सुर्खेतबाट डडेल्धुररा पुगेको सेनाको हेलिकप्टर पनि सुर्खेत फर्केको छ ।

सरकारले डा केसीलाई अपहरण शैलीमा उठाउन लागेको हल्ला चलेपछि विहानै देखि डडेल्धुरामा प्रदर्शन भएको थियो । डा केसीका समर्थकहरुले कुनै हालतमा पनि लैजान नदिने भन्दै सडकमा टायर बालेर बाटो अवरोध गरेका थिए । त्यसपछि प्रजिअ पौडेलले सर्वदलिय बैठक बोलाएका थिए । सो बैठकमा पनि स्थानीय अगुवाहरुले जवरजस्ती उठाएर लैजान नपाइने भन्दै विरोध गरेपछि काठमाडौँ पठाउने योजना स्थगित भएको प्रजिअले जनाएका थिए ।

‘डडेल्धुरा अस्पतालले हिजो स्वास्थ्य अवस्थाको बारेमा विज्ञप्ती जारी गरेपछि केन्द्रसंगको सल्लाहमा उहाँलाई सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्ने भन्ने योजना थियो । त्यहि अनुसार हामीले हेलिकप्टर मगाएका थियौँ तर डा स्वयं र यहाँका अगुवाहरुले नमानेपछि जवरजस्ती गर्न उचित ठानेनौँ,’ उनले भने ।

अस्पतालका मेसु डा जितेन्द्र कंडेलले डा केसीको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल भएको र जुनसुकै बेलामा जे पनि हुनसक्ने भन्दै छिटो स्थानान्तरण गर्न खोजिएको तर त्यो सम्भव नभएको बताए । ‘हामी तीन जना चिकित्सक छौँ । उपकरण त छँदै छैन । अहिलेको अवस्थामा सबैभन्दा ठूलो कुरा डा केसीको ज्यान थियो । त्यसैले हामीले प्रयास गरेका थियौँ । तर डा केसी स्वयं र स्थानीय जनताले अस्विकार गर्नुभयो,’ डा कँडेलले भने ।

यता स्वास्थ्य मन्त्रालयले आज विहानै वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई तयारी अवस्थामा रहन भनेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *