३० प्रकारका औषधि आयातमा रोक लगाउने विषयमा अध्ययन गर्दै कार्यदल

काठमाडौँ, २६ भदौ । ३० प्रकारका औषधि आयातमा रोक लगाउने विषयमा सुझाव सहितको प्रतिवेदन दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको उच्चस्तरीय कार्यदलले कामलाई तिब्रता दिएको जनाएको छ । कार्यदलले निकै छिटो प्रतिवेदन सरकारलाई बुझाउने समेत जनाएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गत १५ साउनमा डा रमेश खरेलको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेका थिए ।

समितिका सदस्यमा भन्सार विभागका उपसचिव अच्युत सिवाकोटी, उद्योग बाणिज्य मन्त्रालयका उपसचिव दुर्गा प्रसाद भुसाल, उद्योग विभागका उपसचिव विनोद कुमार खड्का रहेका छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयका औषधि निरीक्षक संगिता साह र उपसचिव मुक्तिनाथ न्यौपाने समेत सदस्य रहेको सो कार्यदलमा औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षेत्री सदस्य सचिव रहेका छन् ।

‘स्वदेशी औषधि उद्योग प्रवर्धन गर्ने सरकारको नीति रहेको र केही औषधिहरुमा नेपाल आत्मनिर्भर भैसकेको भन्ने परिप्रेक्ष्यमा यो समिति गठन भएको हो, यसले आत्मनिर्भरको अवस्था, कसरी उद्योगको प्रवर्धन गर्ने, लगायतका विषयलाई अध्ययन गरी सुझाव दिनेछ,’ संयोजक डा खरेलले भने ।

त्यसो त कार्यदल गठन भएको ६ हप्तामा तीन पटक बैठक बसिसकेको छ । ‘हामीले निकै छिटो प्रतिवेदन दिने योजनाका साथ काम गरेका छौँ ,’ खरेलले भने ।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको पालामा नेपालमा आत्मनिर्भर भएका औषधिहरुमा रोक लगाउने प्रस्ताव अघि बढेको थियो । त्यस बेला यो प्रस्तावको पक्ष र विपक्षमा चर्को बहस भएको थियो ।  बीचमा उठने र सेलाउने भइरहेका बेला पछिल्लो पटक उपप्रधानमन्त्री यादवले पुन एक पटक यो विषयलाई व्युताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *