श्रम मन्त्रालयले सोध्यो, ‘विदेशका अस्पतालमा कोमामा रहेका बिरामीलाई नरदेवीमा राख्न मिल्छ ?’

काठमाडौँ, २६ भदौ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशका अस्पतालमा कोमा रहेका नेपाली कामदारको उपचार तथा स्याहार नरदेवी अस्पताल राखेर गर्न मिल्छ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सोधेको छ । मन्त्रालयले भने जवाफ दिइसकेको छैन् ।

बुधबार नरदेवी अस्पतालको निरीक्षणमा पुगेका स्वास्थ्य सचिव खगराज बरालले अस्पतालका पदाधिकारी तथा स्वास्थयकर्मीसंग यहि प्रश्न राखेका थिए, ‘विदेशका अस्पतालमा कोमामा रहेका नेपालीको उपचार तथा स्याहार यहाँ ल्याएर गर्न मिल्छ ?’ उनले ‘जनशक्ति, प्रविधि र पूर्वाधार थपिएमा सेवा दिन मिल्छ ?’ भनेर अर्को प्रश्न जोडेका थिए ।

जवाफमा अस्पतालका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरुले त्यसो गर्दा आयुर्वेदको अस्तित्व मेटिने हो कि भनेर प्रतिप्रश्न गरेका थिए । ‘एक सय बर्ष अघि स्थापित देशकै एक मात्र केन्द्रीय आयुर्वेद अस्पताल, यसको छुट्टै महत्व र पहिचान छ । अव कोमाका विरामीलाई आयुर्वेदिक उपचार गर्न पाए त ठिकै हुन्थ्यो । एलोपेथिक हिसावले उपचार गर्नुपर्ने हो भने त यसको अस्थित्व नै नामेट पनि हुनसक्छ,’ निर्देशक डा प्रदीप केसीले चिन्ता जनाएका थिए । छलफलमा सहभागी अन्य स्वास्थ्यकर्मीले पनि आयुर्वेदको मुल मर्मलाई असर नपर्ने गरी निर्णय गर्न सचिव बरालसंग आग्रह गरेका थिए ।

सचिव बरालका अनुसार श्रम मन्त्री गोकर्ण विष्टले उपप्रधान तथा स्वाथ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कोमामा रहेका विरामीलाई उपचार तथा स्याहार सम्भार गर्न नरदेवी अस्पताल उपयुक्त हुने जानकारी आफूले पाएको भन्दै त्यसो गर्न मिल्छ कि मिल्दैन भनेर सोधेका थिए । सोही कुरा मन्त्री यादवले सचिव बरालसमक्ष राखेका थिए ।

‘श्रम मन्त्रीले उपप्रधानमन्त्री ज्यूसंग कुरा राख्नु भएको रहेछ । मलाई एक पटक बुझ्नुस न भन्नु भएको थियो, त्यसैले तपाँईहरुसंग सोधेको । अहिले निर्णय त भईसकेको छैन । तपाईँहरुको पनि त बिचार बुझ्नु परयो,’ सचिव बरालले सो क्रममा अस्पतालका पदाधिकारी तथा स्वास्थ्यकर्मीसंग भने ।

खाडी लगायत विभिन्न मुलुकका २५ नेपाली कोमामा रहेको बोर्डले जनाएको छ। जसमध्ये ३ नेपाली हिँडडुल गर्न नसक्ने अवस्थामा विदेशका अस्पतालमा छन्। कतार, साउदी, युएई, दक्षिण कोरिया लगायत मुलुकका अस्पतालमा यस्ता गम्भीर प्रकृतिका कामदार उपचाररत छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *