जण्डिस भएको बिरामीको पेट झाँक्रीले चिरेपछि……

धादिङ, २५ भदौ । एक जना झाँक्रीले शरीरको विकास फालिलिने भन्दै जण्डिस (कमलपित्त)बाट ग्रस्त बिरामीको पेट चिरेर रगत चुसिदिएका छन् । जिल्लाको नीलकण्ठ नगरपालिका–३ का झाँक्री गजबबहादुर लामाले नीलकण्ठ ९ झगरेका ३९ बर्षीया जण्डिस विरामी राजु मगरको उपचार गर्ने नाउमा पेट चिरेर रगत चुसेका हुन् ।

पेट चिरेर घाइते भएका मगरको अहिले जिल्ला अस्पताल धादिङले वीर अस्पतालमा रिफर गरेको छ ।

मगरका अनुसार गजबबहादुरले उपचारका नाउमा अरु विरामीको समेत पेट चिर्ने गरेका छन् । उनले गत १५ भदौमा आफ्नो पेट चिरेर गजबबहादुरले रगत समेत चुसेको बताए ।

जण्डिसको समस्याबाट छुटकारा पाउन भन्दै मगर गत १५ भदौमा गजबबहादुरकोमा पुगेका थिए । सो क्रममा लामाले मगरलाई आफूले यस्ता धेरै रोग निको पारेको भन्दै शरीर भित्रको विकास तान्नु पर्छ भनेका थिए ।

लामाले त्यसबेला कमलपित्त तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामी मगरसँग रु आठ हजार ३८० रकम लिएका थिए ।
उनले त्यसबेला पत्तीले देब्रेपट्टी बिरामीको पेट चिरेका थिए । पेट चिर्ने बेलामा झाँक्रीले बिरामीको श्रीमती र सँगै गएका बहिनीलाई बाहिर निकालेर पेटमा सुई लगाएर बिरामीको पेटमा चिरेका थिए । पेट चिरेपछि आएको रगतसमेत झाँक्रीले आफूले चुसेको बिरामी मगरले बताए ।

करीब दुई महीनादेखि कमलपित्तले थलिएका मगर कमलपित्तसँगै झाँक्रीले चिरेको घाउसमेत पाकेपछि वीर अस्पतालमा पठाइएको छ । कलेजोको समस्यासमेत देखिएकाले थप उपचार आवश्यक भएको र सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था भएपछि यसरी पठाइएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

मगर कमलपित्त चाँडै निको हुने आशामा झाँक्री कहाँ पुगेका थिए । ज्याला मजदूरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्युसँग जुधिरहेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको बिरामीकी श्रीमती विमलाको भनाइ छ ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । उनको यसअघि पनि केही घटना विवादमा आएका थिए । तीन वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको पाँच महीनाको बच्चा उपचार गर्ने बहानामा फालिदिएका थिए । ती महिलालाई प्रहरीकामा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी नगरेको अधिकारकर्मी राधिका सापकोटाले जानकारी दिए ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकाले आवश्यक कारवाही गरिने बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *