डेंगु परीक्षण गराएकामध्ये ७० प्रतिशतलाई पोजेटिभ !

टेकु अस्पतालमा डेंगु परीक्षण पछि आएको रिपोर्ट वितरण गर्दै

काठमाडौँ, २४ भदौ । राजधानीमा डेंगुको प्रकोप दिनानुदिन बढ्दै गएको छ । टेकु अस्पतालकै तथ्यांक हेर्दा डेंगुको परीक्षण गर्न आएकामध्ये ७० प्रतिशतलाई पोेजेटिभ देखिएको छ ।

अस्पतालका शाखा अधिकृत रुपनाराण खतिवडाका अनुसार पछिल्लो तीन दिनमा डेंगुको परीक्षण गराउन आउनेको संख्या बढेको छ भने संक्रमितहरुको संख्या पनि बढदो क्रममा छ ।

‘डेंगुको आशंकामा अस्पतालमा जाँच गर्न आउनेको संख्या त पछिल्लो समय १ हजार नाघेको छ । तर सबैको जाँच गरिदैन । चिकित्सकले आशंका गरेकाहरुको मात्रै परीक्षण गरिन्छ । त्यो संख्या अलि कम हुन्छ तर रिपोर्ट चाँही बढ्दोक्रममा छ,’ खतिवडाले भने ।

उनका अनुसार टेकु अस्पतालको प्रयोगशालामा २१ भदौमा २९६ जनाको परीक्षण गरिएको थियो । त्यसमध्ये १४४ जना (४८.६५ प्रतिशत) मा पोजेटिभ देखा परयो । २२ भदौमा ३६३ जनाको डेंगु परीक्षण गरिएको थियो, त्यसमध्ये १९४ जना (५३.४४ प्रतिशत)मा पोजेटिभ देखियो । हिजो अर्थात २३ भदौमा ४४६ जनाको परीक्षण गरिएको थियो त्यसमध्ये ३११ जना (६९.७३ प्रतिशत) मा पोजेटिभ देखिएको छ ।

टेकुको तथ्यांकले दैनिक रुपमा परीक्षण गराउन आउनको संख्या र संक्रमित हुनेको संख्या पनि बढ्दोक्रममा रहेको देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अहिलेसम्म ५६ जिल्लामा करीब ४ हजार बढीमा डेंगु संक्रमण भएको र छ जनाको ज्यान गएको पुष्टि गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *