मन्त्रिपरिषद्ले थपेन म्याद, विभागका महानिर्देशक डा. प्याकुरेलले पाए अवकाश

काठमाडौँ, २२ भदौ । एक बर्ष म्याद थप्ने प्रस्ताव मन्त्रिपरिषदबाट निर्णय नभएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् ।

दुई साता अघि स्वास्थ्य तथा जनसंख्यले डा. प्याकुरेलको एक बर्ष म्याद थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराएको थियो ।

प्रमुख विशेषज्ञ (१२ औँ तह) का डा प्याकुरेलको ६० वर्षे अवधी आइतबार (हिजो) पुरा भएको थियो ।

स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले डा प्याकुरेलको म्याद थप नभएको पुष्टी गरे । ‘हामीले त प्रस्ताव गरेका थियौँ । तर त्यो मन्त्रिपरिषदबाट निर्णय हुनुपर्ने थियो । त्यो भएन । त्यसैले उहाँले अवकाश पाउनुभयो सायद,’ उनले भने ।

मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा २ अनुसार उनको पदावधी थप गर्न प्रस्ताव गरिएको बताएको थियो ।

अनिवार्य अवकाश सम्वन्धी दफा ४५ को उपदफा १ ले ६० बर्ष उमेर पुरा भएको व्यक्तिलाई अनिवार्य अवकाशको व्यवस्था गरेको छ । तर, सोही दफाको उपदफा २ ले उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा ६० बर्ष पुराभई अवकाश हुने कर्मचारीलाई बढीमा तीन बर्षको अवधी थप्न सकिनेछ भनेको छ ।

तर, मन्त्रालयको यो प्रस्ताव पठाउँदै समेत चिकित्सा बृत्तमै विरोध भएको थियो ।

‘महानिर्देशक पदका लागि भन्दा पनि विशेषज्ञ पदका लागि यो व्यवस्था थियो । र सुशीले विशेषज्ञ पनि होइनन र म्याद थपेर महानिर्देशकमा बस्न त झनै मिल्ने थिएन । धन्न निर्णय गरिएन । नत्र झनै विवादित हुने थियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

म्याद थप नभएपछि डा प्याकुरेल आइतबारबाट नै विभाग आउन छाडेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *