सेवालाई प्राथमिकता दिने चिकित्सा शिक्षा नीति अहिलेको आवश्यकता : प्रचण्ड

काठमाडौँ, ३२ साउन ।  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेवालाई प्राथमिकता दिने चिकित्सा शिक्षा नीति अहिलेको आवश्यकता रहेको बताएका छन् । उनले चिकित्सा शिक्षा विश्वव्यापी रुपमा नै पुजीपतीसंग नराम्ररी जकडिएको भन्दै त्यसबाट मुक्त गर्न स्वयं चिकित्सक र यससंग सम्वन्धित व्यक्ति अग्रसर हुुनुपर्नेमा जोड दिएका छन् ।

नेकपा निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल र अखिल नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौँमा आजोजना गरेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा खुशी चिकित्सक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले चिकित्सा शिक्षालाई सुरक्षित र मर्यादित बनाइनुपर्ने बताए ।

उनले त्यसका लागि पेशा सुरक्षित र चिकित्सक खुशी हुने वातावरण आवश्यक रहेको बताए । उनले चिकित्सकहरु परिवर्तनका संवाहक भएको भन्दै यसलाई मर्यादित गराउन स्वंय चिकित्सकहरु नै अघिसर्नु पर्नेमा जोड दिए ।

नेकपाका महासचिव विष्णु पौडेलले समृद्धि विना समाजवाद निर्माण नहुने भन्दै स्वस्थ समाजवादका लागि स्वास्थ्य र शिक्षा नीति उत्कृष्ठ हुनुपर्ने बताए । उनले नीति बनाएर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एनडीएका अध्यक्ष डा सन्तोष पौडेलले स्वास्थ्य र समृद्धिका लागि अभियान चलाउन जरुरी रहेको भन्दै आन्दोलन र अनसनले स्वास्थ्य शिक्षामा दीर्घकालिन सुधार नहुने बताए । उनले अभियानका लागि स्रोत साधनको उपलव्धता ,नीतिगत व्यवस्था, सुरक्षित वातावरण आदि सबै पक्ष समेटिनुपर्ने बताए । पेशामा सुरक्षा र मनमा खुशी भएन भने गुणस्तरीय नतिजा पाउन नसकिने भन्दै उनले सबैपक्ष मिलेर चिकित्सा पेशालाई मर्यादित र सुरक्षित बनाउन लाग्नुपर्ने बताए ।

अर्का युवा चिकित्सक डा पुष्पमणी खरालले यतिवेला चिकित्सा क्षेत्र असुरक्षित भएको भन्दै यसलाई सुधार गर्न सबै पक्ष लाग्नुपर्ने बताए । अहिले विरामी र चिकित्सक बीचको सम्वन्धमा नै समस्या देखा परेको भन्दै चिकित्सकले विरामी पक्षसंग डराउनुपर्ने र विरामीपक्ष चिकित्सकसंग विश्वस्थ हुन नसकेको जस्तो भान परिरहेको भन्दै यो पक्ष सुरक्षित पेशा र खुशी चिकित्सकका लागि वाधक भएको बताए ।

कार्यक्रममा नेकपा स्वास्थ्य विभावप्रमुख राजेन्द्र पाण्डे, उपप्रमुख अञ्जना विशंखे, पूर्व स्वास्थ्य राज्यमन्त्री वंशिधर मिश्र, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवाल,नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

त्रिवि शिक्षण अस्पताल परिषरमा भएको कार्यक्रममा चिकित्सा क्षेत्रका विज्ञ, जनस्वास्थ्यकर्मी, विद्यार्थीहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *