सुनकोशी गाउँपालिका : एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

ओखलढुङ्गा, १२ साउन । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ ।

५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिउ ।

साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याएको उनको भनाइ छ । “अधिकांश एकल महिलाको समाजमा बिजोग भएको स्थिति देखेको छु”, अध्यक्ष अधिकारीले भने, “वर्षमा पाँच हजार मात्रै हामीले दिँदा पनि सामान्य रोगको उपचार गर्न पुग्ने रहेछ ।

एकल महिलालाई मात्रै होइन जटिल प्रकृतिका रोग लागेकाहरुलाई थप सहयोग गर्ने पनि हाम्रो नीति छ ।” अध्यक्ष अधिकारीका अनुसार एकल महिलाले फेरि विवाह गरेमा उनले उपचार खर्च पाउने छैनन् । सुनकोशीले गत वर्षदेखि नै ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *