विराटनगर : सर्पले डसेका बिरामीको चाप बढ्यो

विराटनगर, ८ साउन । विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो ।
सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले बताए । गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार भएको बताउँदै उहाँले सर्पले डसेर उपचारका लागि अस्पताल आएका बिरामीमध्ये अहिलेसम्म कसैको मृत्यु नभएको जानकारी दिए ।
उपचारका लागि अस्पतालमा आएका यस्ता बिरामीमध्ये पाँच प्रतिशत सर्प डसेको हुन सक्ने शङ्काका आधारमा आउने गरेकोे उनको भनाइ छ । समयमै उपचार नपाउँदा गत वर्ष सर्पले डसेको दुईजनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
सर्पले डसेका अधिकांश बिरामी ग्रामीण क्षेत्रबाट आउने गरेको जानकारी दिँदै डा ज्ञवालीले यस्ता बिरामीको उपचारका लागि औषधिको अभाव नरहेकोे बताए ।
वर्षाको मौसममा सर्तकता अपनाउनु पर्ने, घर सफाइमा ध्यान दिनुपर्ने, दुलो टाल्नु पर्ने, राति सुत्दा झुल लगाएर मात्र सुत्ने र राति बाहिर निस्कँदा टर्चलाइट बालेर मात्र निस्कनुपर्ने सुझाव डा. ज्ञवालीको छ ।
सर्पले डस्ने बित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा व्लेडले चिर्नेलगायतका कार्य नगरी तुरुन्त अस्पताल आउन उनले आग्रह गरे।
उनले जेठदेखि अहिलेसम्म २५ जना डेङ्गुका बिरामी उपचार गर्न आएको बताए । उनले यस वर्ष झाडापखाला लागेर आउने बिरामीको सङ्ख्या गत वर्षभन्दा घटेको बताए । झाडापखालाबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने, खानु अघि हात धोएर मात्र खाने, दूषित पानी नपिउने, बासी र सडेगलेका खानेकुरा नखाने, फलफूल र हरियो सागसब्जी सफा पानीले पखालेर मात्र खाएमा यसबाट सजिलै बच्न सकिन्छ ।   रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *