बागलुङमै थाइराइड परीक्षण शुरु


बागलुङ, ८ साउन । थाइराइड जाँचको लागि रगतको नमूना पोखरा पठाउनुपर्ने बागलुङवासीको बाध्यता अब हटेको छ । धौलागिरि अञ्चल अस्पतालले मङ्गलबारदेखि थाइराइड परीक्षण तथा उपचार सेवा शुरु गरेको छ ।

थाइराइड सेवाको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा शुभारम्भ गरे । बागलुङ नगरपालिका–४ कि विष्णु सापकोटाले प्रयोगशालाबाट पहिलो सेवा लिएकी थिइन् ।

सोही अवसरमा प्रदेशसभा सदस्य सापकोटालगायतको पनि थाइराइड परीक्षण गरिएको थियो । अत्याधुनिक उपकरण भित्र्याएर थाइराइड सेवा शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताए ।

“ढिलै भए पनि थाइराइड सेवा शुरु गरेका छौँ”, उनले भने, “थाइराइड जाँचका लागि पोखरा धाउनुपर्ने, तीन÷चार दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।”

उनका अनुसार रगतको नमूना लिएको भोलिपल्ट परीक्षणको ‘रिर्पोट’ आउनेछ । परीक्षणपछि थाइराइडको अवस्था हेरेर बिरामीको औषधि उपचार गरिने डा पोखरेलको भनाइ छ ।

सेवा शुभारम्भपछि अस्पतालले गुणस्तरीय सेवामा जोड दिनुपर्ने बागलुङ नगरपालिकाका प्रमुख पौडेलले बताए । गण्डकी प्रदेशसभा सदस्य सापकोटाले अस्पतालमा पूर्वाधार, जनशक्ति र उपकरण चुस्त हुनुपर्ने धारणा राखे ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले व्यवस्थापकीय सुधारसँगै सेवाको गुणस्तर बढाइएको बताए । मङ्गलबार नै अस्पतालमा स्थापना भएको स्तनपान कक्षको पनि शुभारम्भ गरिएको थियो ।

अस्पतालमा आउने महिलालाई स्तनपानका लागि सहजता होस् भनेर छुट्टै कक्ष बनाइएको हो । कक्षमा एकैसाथ दश जना महिलाले आफ्ना शिशुलाई स्तनपान गराउन सक्नेछन् । अस्पताल, विमानस्थललगायतका सार्वजनिक ठाउँमा स्तनपान कक्ष बनाउनुपर्ने सरकारी नीति छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *