जुम्ला : ४५ प्रतिशत घरमै सुत्केरी


खलङ्गा, ३ साउन । जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् । करीब ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताए ।

स्वास्थ्य चौकीमा आएर सुत्केरी गराएमा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने र अकाल मृत्यु घट्ने भएकाले गाउँपालिकाले घरमा हुने सुत्केरी र बाल मृत्युदरलाई शून्य गराउन अभियान नै सञ्चालन गर्ने अध्यक्ष लछिमन बोहोराले बताए । अझै पनि ग्रामीण क्षेत्रका महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन असहज मान्ने र स्वास्थ्य–संस्थामा लैजाँदा बाटोमै सुत्केरी भए फर्काएर घर लैजाने चलन रहेकाले गाउँपालिकाले घरमा हुने सुत्केरीलाई शून्यमा पु¥याउने अभियानलाई प्राथमिकता दिएको हो । महिला शारीरिक रुपले कमजोर हुने भएकाले पनि उनीहरूको स्वास्थ्य सुधारका लागि यस्ता प्रयास गरिएको अध्यक्ष बोहोराले जानकारी दिए ।

उनले भने, “हामी हाम्रा दिदीबहिनी, छोरीबुहारीको स्वास्थ्यप्रति सजग छौँ । त्यसैले घरमा हुने सुत्केरी शून्य गाउँपालिका घोषणाको काममा लागेका छौँ ।”

गाउँपालिकाअन्तर्गत चार स्वास्थ्य संस्थामध्ये दुई वटामा बर्थिङ सेन्टर सञ्चालन गरिएकाले पट्मारा र पातारासी स्वास्थ्य चौकीमा यसै वर्षको साउन महीनाबाट बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी रहेको बताउँदै अध्यक्ष बोहोराले भने, “हामी घरमा हुने सुत्केरी तथा बाल मृत्युदरलाई शून्य गर्ने अभियानमा छौँ, यसमा सबैले हातेमालो गरिदिनु प¥यो ।”

उक्त गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत टेकवहादुर बुढथापाले भने, “स्वास्थ्यको पहँुचबाट टाढा रहेका ग्रामीण भेगका महिला घरैमा सुत्केरी गराउन थालेका कारण स्वास्थ्य संस्थामा पुगेर प्रसूति गराउने अभियान थालिएको हो ।”

स्वास्थ्य संस्थामा बच्चा जन्माएमा गाउँपालिकाका तर्फबाट रु तीन हजार बच्चाको नाममा जम्मा गरिने उनको भनाइ थियो । मातृ मुत्युदर कम गर्न र स्वास्थ्य संस्थामै सुत्केरी गराउने संस्कार बसाल्नका लागि रु तीन हजार गाउँपालिकाबाट र रु तीन हजार अभिभावकले बच्चाको नाममा जम्मा गर्नुपर्ने नीति लिइएको बुढथापाले जानकारी दिए। उक्त अभियानलाई जनप्रतिनिधि, राजनीतिक दल, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब लगायतले सहयोग गर्नुपर्ने गाउँपालिकाका उपाध्यक्ष पुन्नकली महताराले बताए ।

उनले भने, “हामीले सञ्चालन गरेको यो अभियानमा सबैले सहयोग गरे सफल हुने अपेक्षा लिएका छौँ ।” डिल्लीचौर स्वास्थ्य चौकीमा रहेको बर्थिङ्ग सेन्टरमा सबैभन्दा बढी महिलाहरु सुत्केरी हुन आउने गरेका छन् । साबिकको डिल्लीचौर गाविसका ८० प्रतिशत महिला स्वास्थ्य चौकीमै आएर सुत्केरी हुने गरेको र बाँकी २० प्रतिशतलाई पनि स्वास्थ्य संस्थामा आउने वातावारण बनाउन लागिएको स्वास्थ्यकर्मी भरत बुढाले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *