तिलोत्तमा नगरपालिकामा गर्भवती र बालबालिकालाई पौष्टिक आहार वितरण

रुपन्देही, ३० असार । तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । नगर प्रमुख वासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले आज वडा नं– ४ को सीमानगरबाट पौष्टिक आहार वितरण शुरु गरेका हुन् ।

प्रारम्भिक चरणमा वडा नं– ३ र ४ का २४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख काशिनाथ बञ्जाडेले जानकारी दिए । आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौला हजार दिनका महिला तथा बालबालिकालाई पौष्टिक आहार दिएको हो । पोषण आहारमा एक क्रेट अण्डा, एक लिटर खाने तेल, आयोडिनयुक्त नून, साबुन, सर्वोत्तम पिठो, बालभिटालगायत छन् । दुई वर्षभित्र बालबालिकाको झण्डै ८० प्रतिशत मानसिक विकास हुने स्वास्थ्यकर्मी बताउँछन् ।

पोषण आहार वितरण शुभारम्भ गर्दै नगर प्रमुख घिमिरेले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउन चेतना अभिवृद्धिका लागि यसप्रकारको अभियान शुरु गरिएको बताए। उप–प्रमुख जागेश्वरी चौधरीले गर्भवती महिला र बालबालिकाको पोषणले जीवनको समग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले नगरपालिकाले यो विषयलाई महत्व दिएको जानकारी दिइन् । मूलतः विपन्न तथा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर सीमानगरबाट पौष्टिक आहार वितरण अभियान शुरु गरिएको हो । अभियानलाई शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमार्फत सञ्चालन गरिने छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *