बीपी प्रतिष्ठानको पीजीको सिटको विषयमा चिकित्सकले गराए सरकारको ध्यानाकर्षण

 काठमाडौँ, ९ असार । चिकित्सकहरुले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर (पीजी) तहको सिट बाँडफाँडमा गम्भीर गल्ती गरेको भन्दै हस्तक्षेप गरी सच्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सिट बाँडफाँडमा सम्लग्न अधिकारीमाथि कडा कारवाही गर्न समेत माग गरेका छन् ।

केही बेर अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका सरकारी चिकित्सक संघ नेपाल (गोदान), युवा चिकित्सक संघ र केही स्वतन्त्र चिकित्सकहरुले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई संयुक्त रुपमा भेटेका थिए । उनीहरुले मन्त्री यादवलाई छुट्टा छुट्टै रुपमा तयार पारेको ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

सो क्रममा उपप्रधानमन्त्री यादवले सरकारको ध्यानाकर्षण भएको भन्दै आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए ।

गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले प्रतिष्ठानका पदाधिकारीहरुले पैसाको प्रलोभनमा परी स्वदेशी जेहेन्दार विद्यार्थीलाई निरुत्साहित गर्नेगरी स्वदेशीको सिट काटेर विदेशीलाई थपेको बताए । उनले जानजान ऐन विपरित कार्यमा लाग्ने पदाधिकारीहरुलाई छानवीन गरी कारवाही गर्न माग गरे ।

स्वतन्त्र रुपमा मन्त्रालय पुगेका डा पुष्पमणी खरालले चिकित्सा शिक्षा भित्रको विकृति धरानमा देखिएको भन्दै यसलाई सरकारले हस्तक्षेप गरी सच्याउन आफूहरुले मन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनले सरकारले काम नगरे अदालतको बाटो समात्न आफूहरु बाध्य हुने मन्त्रीलाई सुनाएको समेत जानकारी दिए ।

ज्ञापन पत्र बुझाउन, गोदान अध्यक्ष डा पाण्डे, डा खराल सहित युवा चिकित्सक संघका अध्यक्ष डा चेतन बस्नेत सहितको टोली मन्त्रालय पुगेको थियो ।

कुन कुन विषयमा ऐन विपरित छ सिट ?

प्रतिष्ठानले गत शनिबार प्रकाशित गरेको सूचना अनुसार इन्टरनल मेडिसिन र पेडियाट्रिक्समा ५ मध्ये ३ सिट विदेशीका लागि छुट्याएको छ । एनेस्थेसियोलोजी तथा क्रिटिकल कियर मेडिसिनमा पनि एक तिहाई भन्दा बढी अर्थात ११ मध्ये ४ सिट विदेशीलाई छुट्याएको छ ।

यता सर्जरीमा त झन् ६ मध्ये ४ सिट विदेशीका लागि छुट्याएको छ । यस्तै हेड एण्ड निक सर्जरीमा पनि ४ मध्ये २ सिट विदेशीका लागि छुट्याएको छ । जो ऐन विपरित हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *