डोल्पा अस्पतालमा औषधि अभाव


डोल्पा, ८ असार । दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ ।

टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट ( हुइडल पेष्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीको उपचारमा चुनौती थपिएको डा सिजन रावलले बताए ।

मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढे पनि टाइफाइड पत्ता लगाउने किट (औषधि) नै नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डा रावलले बताए। यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधिको आपूर्तिमा ढिलासुस्ती गर्दा धेरै बिरामी निजी औषधि पसलमा उपचार गर्न बाध्य भएका छन् ।

अस्पताल प्रशासनले औषधि अभाव भएको जानकारी प्रदेश सरकारलाई गराए पनि माग पूर्ति नभएको बताएको छ । डोल्पा अस्पताल प्रदेशमातहतमा रहेकाले कुनै पनि कुरा अभाव भएमा पूर्ति गर्ने जिम्मा प्रदेश सरकारको रहेको छ । त्यस्तै दुई जना चिकित्सकको दरबन्दी भएको डोल्पा अस्पतालमा एक जनाले मात्र काम गरिरहेका छन् । करारमा एक चिकित्सक कार्यरत छन् ।

अस्पतालमा डिजिटल एक्सरेसमेत नहुँदा पुरानो एक्सरेबाट काम सञ्चालन हुँदैआएको छ । त्यस्तै बिरामीलाई दिइने अक्सिजनसमेत नहुँदा दैनिक समस्या उत्पन्न भएको छ । जीर्ण भवनमा उपचार गर्दा समस्या हुँदै आएको छ । अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भए पनि अहिलेसम्म बोलपत्र आह्वान हुन सकेको छैन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *