डडेल्धुरा : सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै


डडेल्धुरा, ५असार । पछिल्लो समय जिल्लाका नागरिक सुरक्षित गर्भपतन सेवाप्रति सकारात्मक बन्दै गएका छन् । नेपालमा सुरक्षित गर्भपतन सेवाले कानूनी मान्यता पाएको १७ वर्षको अवधिमा परम्परागत रूपमा चल्दै आएको असुरक्षित गर्भपतनको पाटोमा सुधार आएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सुरक्षित गर्भपतन सेवा, असुरक्षित गर्भपतन गर्दा आइपर्ने समस्या र जटिलता, गर्भपतन बारे नयाँ कानूनी व्यवस्था लगायतका विषयमा गाउँगाउँमा अभिमुखीकरण तथा सडक नाटकमार्फत जनचेतना फैलाइएसँगै नागरिकहरु सुरक्षित गर्भपतनका लागि खुल्न थालेका हुन् ।

सुरक्षित गर्भपतन गर्दा महिलालाई हुने सहजता र सेवाका बारेमा स्थानीयस्तरका महिलाहरु जानकार हुँदा सो सेवाप्रति महिलाहरु सकारात्मक हुँदै गएका वगरकोट स्वास्थ्य संस्थाका प्रमुख मानबहादुर शाहले बताए । सुरक्षित गर्भपतन सेवासम्बन्धी हेय भाव तथा लाञ्छना न्यूनीकरण कार्यक्रमले जनचेतना जगाउन र नागरिकमा रहेको दृष्टिकोणमा परिवर्तन ल्याउन सहयोग पुगेको डडेल्धुरा अस्पतालका ल्याब इञ्चार्ज ईश्वरी भुसालले जानकारी गराए ।

बहुउद्देश्यीय विकास समाज ९एमपिडिएस० अन्र्तगतको सुरक्षित गर्भपतन सेवासम्बन्धी हेय भाव तथा लाञ्छना न्यूनीकरण कार्यक्रमले समेत जिल्लाका विभिन्न गाँउ टोलसम्म पुगी सचेतना फैलाइरहेको छ । सुरक्षित गर्भपतन सेवाप्रति अझै पनि अनविज्ञ रहेका यस क्षेत्रका नागरिक माझ पुगी संस्थाले सचेतना फैलाइरहेको कार्यक्रम अधिकृत हिरा ऐरले बताए ।

जिल्लाका ग्रामीण भेगमा रहेका समुदाय र विद्यालयमा अध्ययनरत् किशोरकिशोरीसँग यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवाका बारेमा छलफल गरी असुरक्षित गर्भपतनले हुन जाने खतराका बारेमा सचेत गराउने कार्यसमेत भइरहेको संस्थाले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *