भक्तपुर अस्पतालका कर्मचारी आन्दोलित, बहिरङ्ग सेवा बन्द

736
Shares

भक्तपुर ४ असार । विभिन्न पेशागत मागहरु राखेर भक्तपुर अस्पतालका कर्मचारीले मंगलबार (हिजोबाट) अस्पतालको बहिरङ्ग सेवा बन्द गराएका छन् । भक्तपुर अस्पतालका विकास समितिअन्तर्गतका २४ जना कर्मचारीको मागको सुनुवाई नभएको भन्दै अस्पतालको बहिरङ्ग सेवा बन्द गरेको हो ।

सेवा बन्द हुँदा आजबाट अस्पतालमा जाँचका लागि आएका सयौँ बिरामी प्रभावित भएका छन् । कर्मचारीले कल्याणकारी कोषको १० प्रतिशत, महङ्गी भत्ता, लुगा भत्ता, बिदा र ग्रेडलगायतका सुविधा नियमितरुपमा पाउनुपर्ने माग गरेका छन् ।

आन्दोलित कर्मचारीले आफ्नो मागसँगै अस्पतालमा अन्य विभिन्न सेवाहरु विस्तार हुनुपर्ने मागसमेत राखेका छन् । कर्मचारीले अस्पतालमा बायस्पी सेवा यथाशीघ्र सञ्चालन हुनुपर्ने, स्वास्थ्य बीमाको औषधि समयमै उपलब्ध गराउनुपर्ने, भिटामिन डी परीक्षण सेवा शुरु गर्नुपर्ने, सुत्केरी अपरेशन सेवा २४ घण्टा सञ्चालन हुनुपर्ने, पीटीए र एनपीएल सेवा विस्तार गर्नुपर्ने, मुटु रोगसम्बन्धी जाँच हुनुपर्ने, इण्डोस्कोपी, इको र यूएसजी सेवाका लागि थप सेवाको व्यवस्था गर्नुपर्ने र अस्पतालमा खानेपानी तथा सरसफाइको व्यवस्था तत्काल गर्नुपर्ने मागसमेत राखेका छन् ।

विगत २०-२५ वर्षदेखि दिँदै आएको सुविधा कटौती गरेपछि आन्दोलनमा उत्रिनु परेको कर्मचारी रञ्जन कायस्थले जानकारी दिए । उनले अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट डा सुधा देवकोटाले मनोमानी ढङ्गले सेवा सुविधा काटेको आरोप लगाउँदै भने, “प्रशासन समक्ष पटकपटक यी सबै माग जानकारी गराउँदासमेत केही प्रतिक्रिया नदिएका कारण विकास समितिबाट सञ्चालित २४ जना कर्मचारी मिलेर आन्दोलन गर्न बाध्य भएका हौँ ।” अस्पतालका विकास समितिका अध्यक्ष मिलन सुवालले आन्दोनकारीले गरेका माग जायज भएको बताए ।

अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा देवकोटाले कर्मचारीले पाइरहेका सेवा सुविधा नकाटेको भन्दै माथिको निर्णय कार्यान्वयन गरेको बताइन । उनले भनिन्, “अस्पतालमा कार्यरत सबैले स्थायी कर्मचारीले पाउने सेवा सुविधा सबै पाइरहेका छन् ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *