पूर्वखोलामा ८० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न घर घर पुग्दै स्वास्थ्यकर्मी

९६ बर्षीय बृद्ध लक्ष्मीप्रसाद तिमल्सेनाको घरमै पुगेर स्वास्थ्य जाँच शुभारम्भ गर्दै स्वास्थ्यकर्मी र गाँउपालिकाका पदाधिकारीहरु

पाल्पा ७ जेठ । पूर्वखोला गाँउपालिकाले ८० बर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न घर घरमै स्वास्थ्यकर्मी पठाएको छ । बृद्ध उमेरका व्यक्तिलाई स्वास्थ्य चौकीसम्म आइपुग्न समस्या हुने भन्दै गाँउपालिकाले स्वास्थ्य जाँचका लागि घर घरमै स्वास्थ्यकर्मी पठाएको हो ।

घर घरमा पुग्ने स्वास्थ्यकर्मीले जेष्ठ नागरिकले उच्च रक्तचाप, मधुमेह सहित जनरल चेकअप गर्ने गरेका छन् । उनीहरुले आवश्यकताका आधारमा जेष्ठ नागरिकलाई औषधि समेत निशुल्क उपलव्ध गराउँदछन् ।

सोमबार गाँउपालिकाले ३ नम्बर वडामा पर्ने रिङ्नेरहबाट यो जेष्ठ नागरिक स्वास्थ्य जाँच कार्यक्रम शुरु गरेको हो । गाँउपालिकाका बयोबृद्ध ९६ बर्षीय लक्ष्मीप्रसाद तिमल्सेनाको स्वास्थ्य जाँच गरी अभियानको शुरु गरेको हो ।

अभियान शुरु गर्दै गाँउ पालिका अध्यक्ष नुनबहादुर थापाले ८० बर्ष पुगिसकेका बृद्धबृद्धाहरुलाई स्वास्थ्य चौकीसम्म आइपुग्न समेत गाह्रो हुनसक्ने भन्दै घरमै स्वास्थ्यकर्मी पठाएर जाँच गर्ने गरेको बताए । ‘यो अभियान जेष्ठ नागरिकलाई स्वस्थ राख्न मद्धत गर्ने अभियान त हो नै साथ साथै जेष्ठ नागरिक प्रतिको सम्मान पनि हो । हामीले वहाँहरुलाई स्थानीय सरकार आएपछि दिन सक्ने सामान्य सहुलियत दिन खोजेका हौँ ,’ उनले भने ।

पूर्वखोला गाँउपालिकामा ८० वर्ष माथिका २ सय ८० जना भन्दा बढी जेष्ठ नागरिक छन् । ती सबैलाई घर घरमा पुगेर स्वास्थ्य परीक्षण, आवश्यक परामर्श र औषधि वितरण गर्ने योजना रहेको गाँउपालिका स्वास्थ्यशाखा प्रमुख मोहन ढकालले बताए ।

९३ बर्षीया गाथादेवी न्यौपानेको घरमै पुगेर स्वास्थ्यजाँच गर्दै स्वास्थ्यशाखा प्रमुख सिअहेव मोहन ढकाल

स्थानीय ८८ जगिसरा आलेले स्वास्थ्यकर्मीहरु घर घरमा आएर स्वास्थ्य जाँच गर्दा आफु खुशी भएको बताइन् । पहिलो दिन गाँउपालिका स्वास्थ्य प्रमुख ढकालसहित रिङ्नेरह स्वास्थ चौकी अहेव रबि शंकर जैसवाल, सिलुवा स्वास्थ्य चौकी अहेव मौसम राई, बीरकोट स्वास्थ्य चौकी प्रमुख नर्वु तामाङ, रिङ्नेरह स्वास्थ्य चौकी की लक्ष्मी थापा, बीरकोटकी सरस्वती श्रेष्ठ लगायतका स्वास्थ्यकर्मी सो अभियानमा खटिएका छन् ।

उनीहरुले सोमबार मात्रै रिङनेरहका ७१ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको गाँउपालिका स्वास्थ्य शाखा प्रमुख ढकालले जानकारी दिए । अभियानको क्रममा जटिल समस्या भएकाहरुलाई माथिल्लो स्वास्थ्य संस्थामा रिफर गरिने उनले बताए । यो गाँउपालिकाले गत वर्ष देखि यो अभियान शुरु गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *