स्वास्थ्यमन्त्री यादवले गरे प्रसूति सेवा गृहको शिलान्यास

576
Shares


विराटनगर,२० वैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले कोशी अस्पताललाई विशिष्ट सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्न लागिएको बताए ।

कोशी अस्पताल विराटनगरको परिसरमा प्रसूति सेवा गृहको शिलान्यास गर्दै उनले अस्पतालमा नयाँ उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गर्न सरकारले योजना बनाइरहेको छ भने । उपप्रधानमन्त्री यादवले मेडिकल कलेज र सरकारी अस्पतालबाट आमनागरिकले सस्तो र प्रभावकारी स्वास्थ्य सेवा पाएको उल्लेख गर्दै नयाँ स्वास्थ्य नीतिमा सरकारी अस्पतालको सेवाको गुणस्तरमा जोड दिइने बताए ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्व क्षेत्रको विराटनगर अहिले स्वास्थ्य केन्द्रको रुपमा विकसित भइरहेको बताउँदै कोशी अस्पतालले भोगेका समस्याको समाधान गर्नुपर्ने धारणा राखे ।

स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा पुष्पा चौधरीले पुरानो संरचनाका कारण अत्यधिक भीड हुने कोशी अस्पताललाई समय सापेक्ष बनाउनुपर्छ भने । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपालमा दातृ निकायबाट प्राप्त हुने सहयोग समयमै सदुपयोग हुने वातावरण बन्नुपर्ने उल्लेख गरे ।

कोशी अस्पतालका प्रमुख डा रोशन पोखरेलले पुरानो संरचना, अत्यधिक भीड र जनशक्तिको अभावमा पनि कोशी अस्पताल जनताका सेवामा समर्पित रहेको चर्चा गरे ।

अमेरिकी सेनाका प्रतिनिधि जी हेरीले अमेरिकी सेनाको सहयोगमा बन्ने प्रसूति गृहले जनतालाई स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गरे । एक वर्षको अवधिमा अमेरिकी सेनाको रु १२ करोड लागतमा १०० श्ययाको सो प्रसूति गृह निर्माण हुन लागेको कार्यक्रममा जानकारी दिइयो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *