चितवन मेडिकल कलेजले पायो मिर्गौला प्रत्यारोपणको अनुमति

काठमाडौँ, १७ बैशाख । निजी क्षेत्रको चितवन मेडिकल कलेज शिक्षण अस्पतालभरतपुरले  पनि मिर्गौैला प्रत्यारोपण गर्ने अनुमति पाएको छ । यो अस्पतालले अनुमति पाएसंगै नेपालमा निजी पाँच सहित आठ अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको हो ।

सोमबार बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले सो अस्पताललाई मिर्गौला प्रत्यारोपण गर्न अनुमति प्रदान गरेको हो ।

यसअघि सरकारी तर्फबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ, वीर अस्पताल काठमाडौँ र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले मिर्गौैला प्रत्यारोपणको अनुमति पाएर सेवा समेत दिइरहेका छन् ।

निजी तर्फ कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ हस्पिटल भरतपुर, निदान अस्पताल पुल्चोक, ग्राण्डी अस्पताल धापासी ले अनुमति पाएर प्रत्यारोपण गरिसकेका छन् गत ७ फागुनमा अनुमति पाएको सुमेरु अस्पताल धापाखेलले भने प्रत्यारोपणको तयारीमा लागेको बुझिएको छ ।

समितिका सदस्य सचिव एवं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले अस्पतालको भौतिक पूर्वाधार, प्राविधिक उपकरण, जनशक्ति लगायतको स्थलगत अध्ययन पछि हिजोको बैठकले सीएमसीलाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिएको बताए ।

नेपालको मिर्गौला प्रत्यारोपणको इतिहास हेर्दा सन् २००८ को अगस्ट ८ मा त्रिवि शिक्षण अस्पतालमा पहिलो पटक प्रत्यारोपण भएको थियो । सोही वर्ष १२ डिसेम्बरमा वीर अस्पतालले मिर्गौला प्रत्यारोपण सुरु गरेको थियो ।

त्यसयता करीब १ हजार ४ सय बढीको मिर्गौैला प्रत्यारोपण भइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *