चिकित्सक र सरकारबीचको छलफल सकारात्मक, आन्दोलन आजै टुंगिने सम्भावना बढ्यो

काठमाडौँ, २९ चैत । समायोजनको प्रक्रियाको विरोधमा आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघ नेपाल (गोदान) र सरकारबीचको छलफल सकारात्मक रुपमा अघि बढेको छ । छलफल सकारात्मक भएसंगै एक साता देखिको आन्दोलन आजै टुंगिने सम्भावना बढेको हो ।

उच्चस्रोतका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेसहितका सरकारी टोली र सरकारी चिकित्सक संघका प्रतिनिधिबीच हिजो र अस्ती लामो छलफल भएको छ ।

‘अनौपचारिक छलफल भएको छ । अस्ति पनि राती १२ बजेसम्म छलफल भयो । हिजो पनि १२ बजेसम्म नै छलफल भयो । कुरा सकारात्मक रुपमा अघि बढेको छ । आज मुख्य सचिव, सामान्य प्रशासन मन्त्री, प्रधानमन्त्री संग कुरा भएपछि यसले औपचारिकता दिई सहमति गर्ने तर्फ अघि बढ्छ होला,’ छलफलमा सहभागी एक सदस्यले भने ।

स्वास्थ्य अधिकारी र गोदानका प्रतिनिधिबीच माग पुरा गर्ने सन्दर्भमा विभिन्न विकल्पसहित छलफल भएको थियो । त्यसमध्ये सबैभन्दा उपयुक्त ‘पुल दरबन्दी’ हुने भन्दै छलफल त्यसमा केन्द्रीत छ ।

प्रदेश तथा स्थानीय तह अन्तरगर्त राखिएका चिकित्सकहरुलाई पुल दरबन्दीमा राखेर खटाउने भन्ने गोदानका प्रतिनिधिहरुले विकल्प पेश गरेका छन् । त्यसमा स्वास्थ्यका अधिकारीहरु पनि सहमत भएको स्रोत बताउँछ ।

‘स्थानीय तथा प्रदेशमा चार पाँच सय जना परेको भएपनि अहिले समस्या दुई अढाई सय चिकित्सकको देखिएको छ । त्यो संख्यालाई पुल दरबन्दीमा राखेर खटाउने र पछि ओएनएम गरेपछि व्यवस्थित गर्ने सबैभन्दा उपयुक्त विकल्प हो भनी दुबै पक्ष कन्भिन्स भएको अवस्था हो,’ स्रोतले भन्यो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चिकित्सकका मागका सम्वन्धमा अनौपचारिक छलफल भइरहेको बताए । उनले छिटै निकास निस्कनेमा आफू आशावादी रहेको जानकारी दिए । गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने औपचारिक बार्ता अझै भईनसकेको भन्दै, बार्ता भएपछि मात्रै निकास निस्कने वा ननिस्कने भन्ने बारेमा थाह हुने बताए ।

गत शुक्रबारबाट आकस्मिक बाहेकको सेवा बहिस्कार गरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले अस्ति देखि अस्पताल बाहिर नै ओपिडी सेवा शुरु गरेका छन् । उनीहरुले आफूहरु विरामीप्रति गम्भीर भएको भन्दै उपचार सेवाबाट कोही बन्चित नहुन भन्नका लागि ओपिडी बाहिर गरी आन्दोलनलाई रचनात्मक बनाएको बताएका छन् ।

यता नेपाल चिकित्सक संघले गोदानको माग पुरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । उसले त्यसभित्र बार्ता गरी सहमति नगरे कडा कदम चाल्ने चेतावनी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *