माग पुरा गर्न गोदानले दियो सरकारलाई ७२ घण्टे अल्टिमेटम
काठमाडौँ, १२ फागुन ।समायोजन प्रक्रिया विरुद्ध आन्दोलन गरिरहेको सरकारी चिकित्सक संघ नेपाल ( गोदान)ले आफ्ना माग पुरा गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । उसले मंगलबारसम्म माग पुरा नभए बुधबारबाट आकस्मिक बाहेकका सेवामा सहभागी नहुने चेतावनी दिएको छ ।
गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा रविन खड्काद्धारा जारी विज्ञप्तीमा माग पुरा नभए बुधबार सरकारले मनाउन लागेको राष्ट्रिय स्वास्थ्य दिवस बहिस्कार गर्ने र सामुहिक राजिनामा बुझाउने सम्म उल्लेख छ ।
गोदानले आगामी मंगलबारसम्म विहान १० देखि ११ बजेसम्म हरेक सरकारी अस्पतालमा प्रदर्शन गर्ने समेत जनाएको छ ।
यसअघि बोल्दै गोदानका अध्यक्ष डा पाण्डेले समायोजनमा आफूहरुलाई प्रदेश तथा स्थानीय तहले परिचालन गर्ने व्यवस्थाको विरोध गरेको बताए । ‘हामी स्थानीय तहमा जान्छौँ तर हामी केन्द्र सरकारकै मातहतमा रहन परयो भन्ने हो,’ डा पाण्डेले भने ।
यता सामान्य प्रशासन मन्त्रालयले भने यथास्थितिमा डाक्टरहरुको माग सुनुवाई नहुने बताउँदै आएको छ । सामान्य प्रशासनका सचिव दिनेशकुमार थपलियाले अहिलेसम स्थानीय तहमा डाक्टर नगएको केन्द्र सरकार मातहत रहेर हो भन्दै त्यसलाई सुधार गर्न पनि प्रदेश तथा स्थानीय तह अन्तरगर्त डाक्टर राख्न बाध्यता परेको बताए ।
सरकारी चिकित्सकले यसअघि रक्तदान देखि सेवा बहिस्कार सम्मका कार्यक्रम गरी विरोधमा उत्रिएका थिए ।
सम्पर्क इमेल : [email protected]