मलेसिया सरकारद्धारा रेष्टुरेन्टमा धूमपान गर्न निषेध
काठमाडौँ, १७ पुस । मलेसियामा आजबाट रेष्टुरेन्ट, क्याफे तथा खाजाघरमा गएर चुरोट खान प्रतिवन्ध लगाएको छ । रेष्टुरेन्ट, क्याफे तथा खाजाघर लाई सार्वजनिक स्थान भन्दै सरकारले चुरोट सेवनमा प्रतिवन्ध लगाएको हो ।
त्यस्ता स्थानमा चुरोट सेवन गर्दा बालबालिका र गर्भवती महिलासहित धेरै प्रभावित हुने मलेसियन सरकारको बुझाई छ । नयाँ नियम अनुसार ती स्थानमा चुरोट सेवन गरेको पाइए सेवनकर्ताले १० हजार रिंगिट जरिवाना अथवा २ वर्ष जेल बस्नुपर्ने बताइएको छ ।
यस्तै रेष्टुरेण्टहरुले चुरोट खाने अनुमति दिएको पाइए उनीहरुलाई समेत २५ सय रिंगिट जरिवाना हुनेछ । साथै रेष्टुरेण्टहरुले धुमपान गर्न मनाही गरिएको सन्देश दिने चित्र प्रष्ट रुपमा देखिने ठाउँमा राख्नुपर्ने छ ।
जरिवाना र जेलको प्रावधान ६ महिनासम्म लागु गरिने छैन । सुरुमा प्रचारप्रसार गरिने, चुरोट खाएको भेटिए सम्झाउने तर पटक पटक दोहो¥याए उनीहरुको विवरण राखिने सरकारले जनाएको छ ।
प्रतिबन्ध लगाइएका ठाउँमा चुरोटसँगै हुक्का जस्ता निकोटिनजन्य पदार्थ पनि खान पाइने छैन । प्रतिबन्ध लगाइएका ठाउँबाट तीन मिटर परसम्म यो नियम लागु हुने द स्टारले जनाएको छ ।
मलेसियाका स्वास्थ्यमन्त्री जुक्लिफी अहमदले यसलाई प्रभावकारी रुपमा कार्यान्वय गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए ।
मलेसियामा पाँच लाख भन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेको बताइन्छ । जनवरी १ बाट नयाँ नियम लागेकोले सचेत रहन सरोकारवालाहरुले बताएका छन् ।
सम्पर्क इमेल : [email protected]