योनीबाट सेतो पानी आउने र चिलाउने समस्या के हो ?

जिज्ञासा :

म एक विवाहित महिला । अहिले २५ बर्ष भएँ । तीन बर्ष भयो मेरो विहे भएको । मेरो समस्या के भने,  पछिल्लो करीब ८ – ९ महिना जतिभयो, मेरो योनीबाट सेतो गनाउने पानी बग्न थाल्यो, पहिले त्यसरी पानी बग्दैन थियो । सुरु सुरुमा त हल्का पानी त हो भनेर वास्ता नि गरिन, तर पछी हल्का चिलाउन नि थाल्यो अनि मैले मेडिकलबाट चिलाउन रोक्ने औषधि ल्याएर खाँए । अहिले चिलाउन त कम भयो तर गनाउने पानी आउन कम भएन । मेरो बच्चा भएको छैन्, तर एक पटक गर्भपतन चाहिँ गराएकी छु । के कारणले यस्तो भएको होला ? यसको समाधान के होला ?   एस. खतिवडा, काठमाडौँ

जवाफ :

प्रश्नको लागि धन्यवाद, तपाँईले दिएको जानकारी अनुसार योनीमा चिलाउने र सेतो पानी बग्ने जो समस्या छ, त्यसलाई चिकित्सकीय भाषामा ‘भेजिनाइटिस’ भनिन्छ । यो एक प्रकारको इन्फेक्सन ( संक्रमण ) हो ।

इन्फेक्सन हुने मुख्यतया तीनवटा कारण हुन्छन । एउटा व्याक्टेरियाको कारणले हुन्छ । जसलाई हामी ‘व्याक्टेरियल भेजिनोसिस’ भन्छौँ । अर्को फंगसको कारणले हुन्छ जसलाई हामीले ‘क्यान्डिलियसिस’ वा ‘मोनिलियसिस’ भन्छौँ हामी । अर्को चाही प्रोटोजोआको कारणले, यसलाई हामी ‘टाइको मोनाइसिस’ भन्छौँ ।

तपाईँलाई यहि तीन मध्ये कुनै कारणले यस्तो समस्या भएको हुनसक्छ ।  र, यी तीनमध्ये जे बाट समस्या भएको भए पनि तपाईँले कम्तीमा तीन किसिमको औषधि प्रयोग गर्नुपर्छ ।

तपाईँले फार्मेसीबाट औषधि ल्याएर खाएँ र चिलाउन छोड्यो भन्नु भयो । तर त्यो के औषधि थियो खुलाउनु भएको छैन । खुलाउनु भएको भए सजिलो हुन्थ्यो । र,  पानी बग्न छोडेको छैन भन्नु भएको छ । त्यसैले हामी भन्न सक्छौँ तपाईँको उपचार पूर्ण भएको छैन ।

उपचार के ?
यसको पूर्ण उपचार गर्नुपर्छ, जसलाई हामी सिन्ड्रोमिक ट्रिटमेन्ट भन्छौँ । यसमा एन्टीबायोटिक हुन्छ एन्टीव्याक्टेरियाका लागि । एन्टी फंगल हुन्छ फंगसका लागि । एन्टी प्रोटोजोल हुन्छ प्रोटोजोआका लागि ।

यो दुई तीन थरी औषधि मिलाएर खाएको खण्डमा यो समस्या समाधान हुन्छ । र,  कहिलेकाँही, भेजाइनामा ‘फरेन बडी’ पनि हुन्छ, रौँहरु कुनै फरेनबडी टयम्पोनहरु जस्ता समस्या हुन्छन् । त्यसैले यस्तो समस्याका लागि एक पटक डाक्टरलाई देखाउनु राम्रो हुन्छ ।

अर्कोकुरा तपाईँले एक पटक गर्भपतन गराँए भन्नु भएको छ । गर्भपतन र तपाईँले भनेको यो समस्या अन्तर सम्वन्धित होइन ।

तर असुरक्षित तरिकाले गर्भपतन गरेको छ भने कहिलेकाँही समस्या निम्त्याउँछ । त्यसैले मेरो सल्लाह के छ भने परिवार नियोजनको रुपमा गर्भपतन गराउन हुँदैन । गराउनै परे सूचिकृत स्वास्थ्य संस्थामा गएरै गराउनुहोला ।

यी सल्लाह दिदै गर्दा तपाईँलाई अन्त्यमा के भन्दछु भने लामो समय देखि यो समस्या भइरहेको छ भने डाक्टरकहाँ गएर जँचाउन ढिला नगर्नुहोला ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *