पोलियो रोग विरुद्धको नयाँ खोप एफआईपीभीको शुभारम्भ

जनकपुर, १९ असोज । बालबालिकाहरुलाई पोलियो रोग विरुद्धको नयाँ खोप ‘फ्याक्स्नल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) दिन शुरु गरिएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विहीबार आयोजित विशेष कार्यक्रमकाबीच एफआइपिभी खोपको शुभारम्भ गरेका छन् ।

सो अवसरमा स्वास्थ्य क्षेत्रलाई गुणस्तर बनाउनुपर्नेमा जोड दिँदै उनले अस्पताललाई उपचारयोग्य बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्छ भने । कार्यक्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जिल्लास्थित कार्यालयलाई निरन्तरता दिएमा प्रदेश सरकारलाई काम गर्न सहज हुने बताए ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र परिवार कल्याण महासङ्घले संयुक्तरुपमा आयोजना गरेको समारोहमा भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनार, सामाजिक विकासमन्त्री नवलकिशोर साह लगायतले खोप, अवस्था, व्यवस्थापनबारे धारणा राखेका थिए ।

सरकारले करीब तीन बर्ष अघि मात्रै पोलियोविरुद्ध नयाँ भनिएको खोप इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आइपीभी) सुरु गरेको थियो । सो खोप सुरु गरेको एक बर्ष नपुग्दै विश्वव्यापी रुपमा अभाव (ग्लोबल सर्टेज) भएपछि विकल्पको रुपमा नयाँ खोप एफआईपीभी ल्याइएको हो ।

यो खोप शिशुलाई दुई चरणमा दिइने गरिन्छ । जन्मेको ६ हप्तामा पहिलो डोज र १४ हप्तामा दोस्रो डोज दिएर पुरा गरिन्छ ।

ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेशन (गाभी)को सतप्रतिशत सहयोगमा प्राप्त खोप भदौ देखि नै अनौपचारिक रुपमा शुरु गरिसकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *