निजामती अस्पताल विस्तारमा चिनियाँ सहयोग

काठमाडौँ, १०असोज । छिमेकी मुलुक चीनको सहायतामा निजामती सेवा अस्पतालको विस्तार र क्षमता वृद्धि हुने भएको छ । नेपाल सरकार र चीन सरकारबीचको सहायता कार्यक्रमअन्तर्गत निजामती अस्पतालको सेवा विस्तार, थप श्ययाको व्यवस्था र अत्याधुनिक सेवासहितका नयाँ भवन र अस्पतालको क्षमता विस्तार हुनेछ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेपालका लागि चिनियाँ राजदूत यू होङले आज यहाँ आयोजित कार्यक्रममा अस्पतालको विस्तार तथा स्तरोन्नतिको औपचारिक शिलान्यास गरे ।

सो अवसरमा मन्त्री पण्डितले निजामती अस्पतालको विस्तारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए । अस्पतालको विस्तार तथा स्तरोन्नतिले भविष्यमा थप गुणस्तरीय सेवा सहजरूपमा पाउने वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।

चीन सरकारबाट निर्मित धेरै परियोजनामध्ये निजामती अस्पताल नेपाललाई उपहारका रूपमा रहेको र यसलाई भविष्यमा ‘पोस्ट ग्रयाजुएट डिग्री’ अध्ययन अध्यापनका लागि चिकित्सा महाविद्यालयमा विकास गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होङले सिभिल अस्पताल यसको उत्कृष्ट डिजाइनका कारण २०७२ को भूकम्पपछि महत्वपूर्ण उद्धारस्थल बनेको स्मरण गरे। त्यतिबेला अस्पतालमा घाइते र बिरामीको भीड र स्वास्थ्यकर्मी व्यस्त भएर काम गरेको दृश्य आफ्नो स्मृतिमा अझै ताजा रहेको उनको भनाइ थियो । “म त्यतिबेला यहाँको दृश्य देखेर विचलित भएकी थिएँ, हामी एउटा महान काममा खटिएका थियौँ । चीन सरकारले यो अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गर्नुको खास कारण पनि त्यही हो”, राजदूत होङले भने ।

सिभिल अस्पताल स्थापनाको १० वर्ष नेपाल र चीनबीचको मित्रताको लिखत भएको र नेपालको लोकतान्त्रिक प्रक्रियामा साक्षी बनेको उनको भनाइ थियो । नेपालमा नयाँ सरकार गठन भएपछि दुई देशबीच उच्चस्तरीय नेतृत्व तहमा नियमित भ्रमण आदान प्रदान भइरहेको पनि उनले बताए।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले बताएअनुसार यो परियोजना झण्डै रु एक अर्ब ३० करोडको हुने र १५ महिनामा निर्माण कार्य सम्पन्न हुनेछ । नयाँ स्वरुपमा अस्पतालमा २७० श्यया रहने र शल्यक्रिया कक्ष, न्यूरो सर्जरी सेवा, मुटु रोगसम्बन्धी उपचार सेवा र अन्य सुविधा सम्पन्न भवन र उपकरणको व्यवस्था हुनेछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *