स्वास्थ्यकर्मीहरुले उप-प्रधानमन्त्रीलाई भेटेर भने, ‘खोपको दरबन्दी यथावत राखिदिनुस्’
काठमाडौँ, २३ साउन । स्वास्थ्यकर्मीहरुले खोप सम्वन्धी पुरानो दरबन्दी यथावत राख्न उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराएका छन् । स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ दरबन्दी व्यवस्थामा खोप सम्वन्धी कार्य गर्दै आएका कर्मचारीहरुको दरबन्दी काटिएपछि उनीहरुले मन्त्री यादवलाई आज भेटेर ध्यानाकर्षण गराएका हुन् ।
यसअघि बाल स्वास्थ्य महाशाखाको खोप शाखामा खोप सुपरभाइजर खोप अधिकृत थियो । यस्तै आपूर्ति व्यवस्थापन महाशाखाको कोल्ड चेन वितरण शाखामा खोप सुपरभाइजर, मेकानिकल इन्जिनियर २, औषधि व्यवस्थपक १ र कोल्ड चेन अधिकृत ४ जना भएको थियो । यी मध्ये आपूर्तिमा मेकानिकल इन्जिनियर, कोल्ड चेन अधिकृत खोप सुपरभाइजर तथा वाल स्वास्थ्य महाशाखामा पनि साविकको दरबन्दी काटिएको छ ।
ज्ञापनपत्र बुझाउन जाने समूहका एक जना सदस्य ओम उपाध्यायले नयाँ दरबन्दीले राष्ट्रिय कार्यक्रमलाई नै प्रभावित पार्ने देखिएकोले त्यसबारे मन्त्रीको ध्यानाकर्षण गराएको बताए । उनले खोप कार्यक्रममा अन्तराष्ट्रिय निकायको प्रत्यक्ष सरोकार समेत रहेको भन्दै यसको खरीद, भण्डारण र वितरणमा समेत यसका एक्सपर्टहरु रहनुपर्ने भन्दै भईरहेको दरबन्दी फालेर कार्यक्रम प्रभावकारी नहुने बताए ।
आज मन्त्रीलाई भेट्न जाँदा उनीहरुले विभिन्न जिल्लामा कार्यरत २५ जना खोप अधिकृत तथा खोप सुपरभाइजरको हस्ताक्षर समेत पेश गरेका थिए ।
जवाफमा मन्त्री यादवले समस्याबारेमा बुझेर आवश्यक निर्णय लिने बताएका थिए ।
नेपालमा बिस २०२४ मा बिफर उन्मूलन कार्यक्रम लागू भएको हो । विसं २०३४ सालमा नेपाल लगायत विश्वबाट बिफर उन्मूलन पश्चात बिस २०३५ साल देखि बिस्तारित खोप आयोजनाको नामबाट खोप कार्यक्रम शुरु भएको थियो । विस २०४८ सालमा नेपालभरी कार्यक्रम सञ्चालन भयो ।
प्रारम्भमा तीनवटा खोप एन्टिजेनबाट शुरु भएको कार्यक्रममा हाल एघार वटा खोप एन्टिजेन प्रदान गरिन्छ । आगामी दिनमा थप दुई खोप थपिने क्रममा छन ।
नेपालले यूनिसेफ र डब्लुएचओले बनाएको मापदन्ड प्रभावकारी खोप व्यवस्थापनको आधारमा खोप वितरण भण्डारण र ढुवानीको गुणस्तर राख्ने काम गरेको बताइन्छ ।