डा. केसीको अनशन २२ औँ दिन : बार्ता अघि बढेन, उपचार गर्न मानेनन्
काठमाडौँ, ५ साउन । डा. गोविन्द केसीको अनशन लम्बिदै जाँदा सरकारसंगको बार्ता भने अघि बढ्न सकेको छैन । बार्ता अघि बढ्न नसक्नुमा दुबै पक्षले एक अर्कालाई दोष दिएका छन् ।
डा केसी पक्षले सरकार बार्ताका लागि गम्भीर नरहेको आरोप लगाउँदै आएको छ तर सरकार पक्ष भने डा केसी पक्षले फेरेका माग र अडानका कारण समस्या पैदा गरेको बताएको छ ।
डा केसी पक्षका बार्ता टोली संयोजक डा अभिषेकराज सिंहले अनशन लम्बिदै जाँदा सरकार बार्ताबाट टाढा टाढा भएको बताए । उनले पछिल्लो समय सरकार पक्षबाट बार्ताका लागि पहल नै नभएको जानकारी दिए ।
सरकारी पक्षले भने पहल भइरहेको बताएको छ । बार्ता टोली सदस्य डा गुणराज लोहनीले बार्ताको लागि पहल भइरहेको र केही विषयमा माथिको निर्देशन समेत चाहिने भएकोले त्यसको प्रतिक्षामा रहेको बताए ।
सरकार र डा केसी पक्षबीच पछिल्लो बार्ता १ साउनका दिन भएको थियो ।
अबको बार्ता डा. केसीसंग ?
प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले सरकारले अब डा केसीसंगै बार्ता गर्ने बताए । उनले भने, अरुसंग बार्ता गरेर निकास निस्कने सम्भावना देखिएन । त्यसैले बार्ता अब डा केसीसंगै हुन्छ । उनले त्यसका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपबाट तयारीहरु भइरहेको जानकारी दिए ।
अहिलेको प्राथमिकता भनेको डा केसीको स्वास्थ्य रहेको भन्दै पहिले स्वास्थ्य ठीक भएपछि मात्रै बार्ताको कार्यक्रम अघि बढ्ने उनले जानकारी दिए । यद्धपी विभिन्न संयन्त्रहरुले काम गरिरहेको बताए ।
डा केसीले उपचार लिन मानेनन्
अस्ती बेलुका त्रिवि शिक्षण अस्पतालमा ल्याइएका डा केसीले आफ्नो स्वास्थ्य परीक्षण गर्न समेत मानेका छैनन् । सरकारले जुम्लामा अस्पताल भित्रै पसेर दमनमा उत्रिएको भन्दै डा केसीले त्यसको विरोधमा उपचार लिन नमानेका हुन् । उनले आफूलाई सरकारले जुम्लाबाट जवरजस्ती उठाएको समेत आरोप लगाउँदै आएका छन् ।
सरकारी पक्षले भने डा केसीको अत्यन्त जटिल स्वास्थ्यका कारण थप उपचारका लागि काठमाडौँ ल्याउन परेको बताएको छ ।
सम्पर्क इमेल : [email protected]