वीर अस्पतालमा १०३ वर्षीया बृद्धाको दुर्लभ न्यूरोसर्जिकल शल्यक्रिया सफल

काठमाडौँ, १६ पुस । वीर अस्पतालका चिकित्सकहरुले १०३ वर्षीया बयोबृद्धाको अत्यन्तै दुर्लभ मानिने न्युरोलोजिकल शल्यक्रिया गरी सफलता हात पारेका छन् । कोटेश्वर निवासी ती बृद्धालाई चार दिन अघि अचेत अवस्थामा वीर अस्पतालको आपतकालीन कक्षमा ल्याइएको थियो ।
आश्चर्यजनक कुरा त के छ भने उनले यो उमेरसम्म आईपुग्दा आफ्नो स्वास्थ्य समस्याको लागि भन्दै कुनै पनि अस्पताल पुगेर उपचार गराएकी थिईनन् ।
परिवारका अनुसार पछिल्लो एक महिनादेखि उनलाई कहिलेकाहीँ टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिएको थियो। परिवारले सुरुमा यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो। तर दुई दिनसम्म लगातार अचेत अवस्थामा रहे पछि उनलाई नजिकैको अस्पताल लगिएको थियो । तर बिरामीले सधैं वीर अस्पतालको चर्चा गर्ने गरेको स्मरण गर्दै पछि परिवारले उनलाई वीर अस्पताल ल्याउने निर्णय गरेको थियो ।
वीर अस्पतालका अनुसार इमरजेन्सीमा आईपुग्दा उनी अचेत नै थिइन्। विस्तृत जाँच–परीक्षणपछि उनको मस्तिष्कमा धेरै ठूलो रक्तस्राव सवडुरल ह्यामरेज) भएको पत्ता लाग्यो, जसका लागि तत्काल न्यूरोसर्जिकल शल्यक्रिया आवश्यक थियो।
वीर अस्पालका बरिष्ठ न्युरो सर्जन प्राडा राजीव झा भन्छन्, ‘यति अत्यन्तै उच्च र नाजुक उमेरमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती थियो। बिरामीको परिवारले उनको बाँच्ने आशा नै गुमाइसकेको थियो। तर हाम्रो न्यूरोसर्जरी विभागको टोलीभित्र गहिरो छलफल तथा बिरामीका परिवारसँग विस्तृत परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णय पुग्यौँ । शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो।’
शल्यक्रियापश्चात बिरामीमा उल्लेखनीय सुधार देखिएको छ।
यो शल्यक्रिया प्राडा झाको नेतृत्वमा डा. समीर आर्याल, डा. नम्रता खड्का , डा. आयुष बिमली, नर्स सिन्धु गौतम र अन्य स्वास्थ्यकर्मीहरुको टोलीद्वारा सम्पन्न गरिएको हो। हाल बिरामी होसमा छिन्, बोल्न सक्ने अवस्थामा छिन् र आफैं खाना खान सक्षम भएकी छिन्।
प्राडा झा भन्छन्, ‘१०० वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिन्छ, र यस्ता केही मात्र केसहरू रिपोर्ट भएका छन्। वीर अस्पतालको न्यूरोसर्जरी विभाग यस असाधारण उपलब्धि साझा गर्न पाउँदा अत्यन्तै गर्व र सन्तुष्टि महसुस गर्दछ, जसले उमेरको सीमा नहेरी बिरामीप्रति समर्पित सेवा, सहकार्य र सूक्ष्म निर्णय प्रक्रियाको प्रतिबिम्ब प्रस्तुत गर्दछ।’
अस्पतालका निर्देशक प्राडा दिलिप शर्मा नेपालकै सबैभन्दा पुरानो अस्पतालले यस्तो दुर्लभ काममा सफलता पाउनु गर्वको विषय हो भन्दै यसले नेपाली चिकित्सक र सरकारी स्वास्थ्य संस्थाको सामर्थ्र्यको पनि उजागर गरेको बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



