चितवनको बर्डफ्लु प्रभावित क्षेत्रमा जनस्वास्थ्यको टोली

चितवन, ६ जेठ ।कुखुरामा बर्डफ्लु देखिएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यबारे अनुगमन थालेको छ।

पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुरु गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकुमार झाका अनुसार शनिबार जिल्ला आइपुगेको टोलीले आइतबार बिहानदेखि रगतको नमूना समेत लिन सुरु गरेको छ। मानिसमा हालसम्म बर्डफ्लुको संक्रमण नदेखिएको भन्दै उनले सर्नसक्ने भएकाले उच्च सतर्कताका लागि आग्रह गरिएको बताए।

बर्डफ्लु हुँदा देखिने भाइरस मानिसमा पनि सर्नसक्ने हुन्छ। प्राविधिक टोलीले पक्षी र पक्षीजन्य पदार्थ नष्ट के(कसरी भएको छ भन्ने जानकारी पनि लिएको झाले बताए।

यसैबीच बर्डफ्लु प्रभावित क्षेत्रमा कुखुरा मार्न रोक लगाएका व्यवसायी कुखुरा मार्न राजी भएपछि काम सुरु भएको छ। शनिबार बिहान त्यहाँका दुई खोरमा कुखुरा मार्दामार्दै उनीहरुले कुखुरा मार्न छुट्याइएको चार किल्ला व्यावहारिक छैन भन्दै अवरोध गरेका थिए।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले किसान, व्यवसायी र सरकारी प्राविधिक टोलीबीच छलफलपछि कुखुरा पुनः मार्न र कुखुराजन्य पदार्थ नष्ट गर्न थालिएको बताए। सो क्षेत्रमा रहेका कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार केन्द्रबाट आएको प्राविधिक टोलीले बर्डफ्लु प्रमाणित भएका खोरबाट उत्तरमा राजमार्ग, दक्षिणमा पुरानो राजमार्ग, पूर्वमा सुर्तनीको कच्ची बाटो र पश्चिममा पर्सा बजारसम्मको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सुर्तनीका किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु प्रमाणित भएको छ।

नेपालको सीमाक्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको छ। रासस


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर