स्याङ्जा : गर्भ जाँच गराउन जानेलाई क्यारेट क्यारेटमा अण्डा

316
Shares

स्याङ्जा, २५ वैशाख । स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अण्डा वितरण गर्दै आएको छ ।

गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अण्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताए ।

“गर्भवती महिला नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो”, नगर प्रमुख खनालले भने, “अर्कोतर्फ पौष्टिक आहाराको कमी हुनबाट बचाइ आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर यो अभियान सञ्चालन गरेका हौँ ।”

गर्भवती महिलाले पहिलो परीक्षण अवधि तीन महिनादेखि प्रत्येक महिनामा जाँच गराउन आउँदा प्रत्येक पटक एक क्यारेट अण्डा स्वास्थ्य संस्थाबाटै तत्काल दिने व्यवस्था नगरपालिकाले मिलाएको छ ।

“भिरकोट नगरपालिकाभित्रका गर्भवती महिलाले नगरभित्रकै स्वास्थ्य संस्था वा अन्य नगरका पायक पर्ने स्वास्थ्य संंस्थामा गएर गर्भ जाँच गराउन सक्नुहुन्छ” नगर प्रमुख खनालले भने, “उहाँहरुले पायक पर्ने अर्को स्वास्थ्य संस्थामा गएर जाँच गराएको कार्ड लिएर आउनुभएमा पनि हामीले अण्डा प्रदान गर्दछौँ ।”

गर्भवती महिलाले पहिलोपटक गर्भ जाँच गराउने अवधि तीन महिनादेखि सुत्केरी हुँदासम्मको अवधिलाई पुग्ने गरी महिना÷महिनामा गर्भ जाँच गरेका आधारमा अण्डाको क्यारेट प्रदान गर्दै आइरहेको भिरकोट नगरपालिका वडा नं १ का अध्यक्ष एवं नगर प्रवक्ता दीपेन्द्र केसीले बताए । भिरकोट नगरपालिकामा हाल एउटा शहरी स्वास्थ्य क्लिनिक र नौवटा स्वास्थ्य चौकी रहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *