सरकार र डव्लुएचओबीच पाँच बर्षे सहकार्य रणनीति सार्वजनिक
काठमाडौँ, १९ बैशाख । नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)बीचको पाँच बर्षे सहकार्य रणनीति सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित विशेष समारोहका बीच रणनीति सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको रणनीतिमा सन् २०१८ देखि २०२२ सम्म नेपाल सरकार र डव्लुएचओबीच गरिने सहकार्य र त्यसका चारवटा प्राथमिकताहरु तोकिएका छन् ।
पहिलो प्राथमिकतामा संघीय राज्य प्रणाली अनुसार सर्बव्यापी स्वास्थ्य सेवालाई बढावा दिइने रहेको छ । त्यसमा स्थानीय तहसम्मका स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने र राष्ट्रिय रुपमा नीति निर्माण तथा अनुगमन गर्ने उद्देश्य लिइएको छ ।
यस्तै दोस्रो प्राथमिकतामा जनस्वास्थ्यका कार्यक्रमहरुलाइ प्रभावकारी रुपमा उपलव्ध गराउने रहेको छ ।त्यसमा क्षयरोग नियन्त्रण, दादुरा, मलेरिया लगायतका प्राथमिकतामा नपरेका रोगहरुको उन्मुलन, नयाँ खोपहरु ल्याउने र त्यसको प्रयोग गरी रोगहरुको नियन्त्रण गर्ने लगायतका रणनीति छन् ।
तेस्रो प्राथमिकतामा स्वास्थ्य सुरक्षा, विपत्तिको पूर्वतयारी र उद्धारलाई राखिएको छ । जसमा जनस्वास्थ्यको इमरजेन्सी अवस्थाको पहिचान र सम्वोधन गर्ने छ । त्यस्तै चौथो प्राथमिकतामा स्वास्थ्यको उपलब्धिका लागि बहुक्षेत्रीय सहभागिता चौथो प्राथमिकतामा परेको छ । यसमा एनसीडी एन्टीमाइक्रोबेल लगायतका विषय समेटिएका छन् ।
रणनीति सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालको आवश्यकता, राजनीतिक परिवर्तन र अपनाउनुपर्ने कार्यदिशालाई ध्यान दिँदै रणनीति तयार पारिएको बताइन्। उनले यो रणनीति नेपालको संविधानमा उल्लिखित आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउन सहयोगी हुने विश्वास व्यक्त गरिन्।
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले स्वास्थ्य क्षेत्रको विकासमा नेपालले धेरै महत्वकांक्षी लक्ष्य तय गरेकाले यसमा डब्लुएचओएको साथ महत्वपूर्ण हुने उल्लेख गरिन्।
डब्लुएचओका सह महानिर्देशक (सरुवा रोग) डा रेन मिंघुइले रणनीतिले नेपाल सरकारसँग सहकार्य गर्न सहज हुने बताए।
सम्पर्क इमेल : [email protected]