बागलुङ : धौलागिरि अञ्चल अस्पतालमा ‘डायलासिस’ सेवा शुरु
बागलुङ, १० वैशाख । धौलागिरि अञ्चल अस्पताल बागलुङमा आजबाट निःशुल्क डायलासिस सेवा शुरु भएको छ । यस क्षेत्रमा पहिलोपटक शुरु भएको सो सेवाबाट मृगौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन् ।
बागलुङ नगरपालिका–४ का ठोकप्रसाद सापकोटाकोे डायलासिस गरी सो सेवा शुरु गरिएको अस्पतालका प्रमुख डा सागर राजभण्डारीले बताए ।
दैनिक दुई चरणमा गरी चारजना बिरामीको डायलासिस गर्न सकिने उनको भनाइ छ । उपकरण र जनशक्ति व्यवस्थापन भए सेवा बढाउन सकिने अस्पतालले जनाएको छ ।
यो सेवा शुरु संगै महँगो खर्चमा डायलासिस गर्न ठूला अस्पतालमा जानुपर्ने धवलागिरिवासीको बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष रामजी सुवेदीले बताए ।
‘‘लामो प्रयासपछि डायलासिस सेवा शुरु भएको छ,” उनले भने, “यसको निरन्तरताका लागि सबै क्षेत्रको सहयोग चाहिन्छ ।”
सरकारले अघिल्लो वर्षदेखि डायलसिस सेवा पूर्णरुपमा निःशुल्क गरेको हो ।
देशभरका ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । डायलासिस सेवाबाट बागलुङसँगै छिमेकी पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मीलगायत जिल्लाका बिरामीले सुविधा पाउने छन् ।
रासस